काठमाडौं : राम अवालेले आफूलाई निकै सक्षम र काविल अध्यक्ष मात्र होइन, प्रचलित ऐन कानुन र संघको विधान र नियमायक निकाय राष्ट्रिय खेलकुद परिषद्को निर्देशनलाई अक्षरसः पालना गर्दै आएको व्यक्तिका रुपमा पनि ब्याख्या गर्दै आएका छन् । हरेकजसो कार्यक्रममा सुटबुटमा सजिने राम अवाले आफूलाई ‘जेन्टल म्यान’ भन्न रुचाउँछन् । तर, करिब ६ वर्षको अवधिमा नेपाल बक्सिङ संघमा बसेर उनले गरेको कामकारवाही र फट्याइँको फेहरिस्त हेर्ने हो भने राम अवाले जेन्टल म्यान होइन, ‘ब्याड म्यान’ रहेको प्रस्ट देखिन्छ ।
उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतलाई बाइपास गर्दै नेपाल बक्सिङ संघलाई पारिवारिक संघका रुपमा चलाउँदै आएका अवालेले संघभित्र गरेको आर्थिक अपारदर्शीताको फेहरिस्त पनि निकै लामो छ । कुनै पनि काम गर्न न पदाधिकारीको बैठक बस्नु पर्छ न छलफल र माइन्युटमा लेख्नु नै आवश्यक ठहर्छ । अवाले दाजुभाइको सनकका भरमा संघको कामकारवाही हुँदै आएको छ । त्यसमा पनि अध्यक्ष राम देखाउने पात्र मात्र हुन, सबै काम भाइ श्यामको इच्छामा हुँदै आएको छ । त्यसैले बक्सिङ संघ, संघभन्दा पनि पारिवारिक अखडा बनेको गुनासो आम बक्सिङप्रेमीको छ । अझ रमाइलो त राम र श्यामलगायतका दाजुभाइको परिवार एउटै घरमा बस्दै आए पनि कतिपय निर्णय श्यामले आफूलाई गुमराहमा पारेर गर्ने गरेको अध्यक्ष राम अवालेले आफ्ना नजिकका व्यक्तिहरुसँग गुनासो गर्दै आएका छन् ।
प्रचलित ऐन कानुन र संघको विधान र नियमायक निकाय राष्ट्रिय खेलकुद परिषद्को निर्देशनलाई अक्षरसः पालना गर्दै आएको दाबी गर्ने राम अवालेले २०७६ मा प्रदेश ५ मा आयोजना भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रिङ र म्याटमा गोलमाल गरेको तथ्य बाहिर आएको छ । आठौं राष्ट्रिय खेलकुदमा रिङ र म्याट खरीद गर्न राष्ट्रिय खेलकुद परिषद्ले भ्याटसहित १८ लाख रुपैयाँ बक्सिङ संघलाई दिएको थियो । तर, संघले अहिलेसम्म त्यो रकम फछ्यौट गर्न सकेको छैन । सार्वजनिक खरीद ऐन अनुसार ५ लाखभन्दा बढीको काम टेन्डरबाट हुनुपर्छ । तर, नेपाल बक्सिङ संघले भ्याटसहित १८ लाखको काम पनि कोटेसनबाट गरेको थियो । आठौं राष्ट्रिय खेलकुदपछि नेपालगन्जकै राखिएको रिङ र म्याटको गुणस्तर पनि निकै कमसल रहेको बुझिएको छ ।
यसरी सार्वजनिक खरीद ऐन विपरीत कोटेसनका आधारमा भारतबाट ल्याइएको कमसल र गुणस्तरहिन रिङ र म्याटको पेश्की फछ्यौट नेपाल बक्सिङ संघ र राम अवालेले गर्न सकेका छैनन् । हिसाव मिलानका लागि राष्ट्रिय खेलकुद परिषद्का उच्च पदस्थ कर्मचारीसँग साँठगाँठ गरे पनि कर्मचारी नै कानुनी झमेलामा पर्ने भएपछि उनीहरुले पनि आँट गर्न सकेका छैनन् ।
आफूहरुले गरेका सम्पूर्ण हिसाबकिताव दुरुस्त रहेको र अघिल्लो नेतृत्वले मात्रै पेश्की फछ्यौट गर्न बाँकी रहेको दाबी गर्ने राम अवालेलाई आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको म्याट र रिङ ‘गलामा अड्किएको हड्डी’जस्तै भएको छ । आफूलाई जेन्टल म्यान दाबी गर्ने राम अवालेले १८ लाखको पेश्की फछ्यौट गर्न नसक्दा उनी साँच्चै ब्याड म्यान नै हुन् भन्ने सन्देश पनि गएको छ । यसले राम्रो अवालेको छवि धुमिलिएको छ नै बक्सिङ संघमाथि पनि प्रश्नचिन्ह तेर्सिएको छ ।
अघिल्लो कार्यसमितिले पेश्की फछ्यौट नगरेका कारण आफूहरु समस्या परेको राम अवालेले बताउँदै आएका छन् । पेश्की फछ्यौटका लागि यसअघिका अध्यक्षलाई संघ र राष्ट्रिय खेलकुद परिषद्बाट पत्र काट्नसमेत लगाएका अवालेले आफ्नै पालाको पेश्की फछ्यौट गर्न नसकेर उनी साँच्चिकै असक्षम हुन् भन्ने कुरालाई प्रमाणित गर्ने काम गरेका छन् । अहिले पनि नेपाल बक्सिङ संघले ४० लाखभन्दा बढीको पेश्की फछ्यौट गर्न बाँकी छ । संघले अहिलेसम्म ४० लाख ७५ हजार ६ सय रुपैयाँ पेश्की फछ्यौट गर्न बाँकी छ । यो पेश्की फछ्यौट गर्न राष्ट्रिय खेलकुद परिषद्ले पटक पटक ताकेता गरे पनि राम अवालेले आनाकानी गर्दै आएका छन् ।
पेश्की फछ्यौट नगरेका र आर्थिक प्रतिवेदन नबुझाएका संघको नवीकरण नहुने स्पष्ट प्रावधान छ । तर, राम अवालेले राष्ट्रिय खेलकुद परिषद्का उच्च पदस्थ कर्मचारीलाई प्रभावमा पारेर संघको नवीकरण भने गरेको पाइएको छ । पेश्की फछ्यौटका लागि परिषद्ले पटक पटक ताकेता गर्दै आएको छ भने निर्वाचित कोषाध्यक्षलाई हटाएर कार्यबहाक कोषाध्यक्ष राखेपछि संघको आर्थिक प्रतिवेदन (अडिट रिपोर्ट) का विषयमा पनि विवाद हुँदै आएको छ । अडिट रिपोर्टमा अध्यक्षसँगै महासचिव र कोषाध्यक्षको अनिवार्य हस्ताक्षर हुनुपर्ने प्रावधान छ । संघको निर्वाचित कोषाध्यक्षलाई हटाएर कार्यबहाक कोषाध्यक्षमार्फत खाता सञ्चालन गरेपछि महासचिव सविन भट्टाचार्यले पनि असहमति जनाउँदै आएका छन् । त्यही कारण संघले विगत ६ वर्षदेखि अडिट रिपोर्ट नै बनाउन सकेको छैन । अडिट रिपोर्ट नै नभई परिषद्ले नेपाल बक्सिङ संघको नवीकरण कुन आधारमा कसरी ग¥यो भन्ने प्रश्न उठेको छ ।

यो पनि पढ्नुस्

नेपालमाला
