बक्सिङ संघको नौटंकी : आफै बोक्सी आफै धामी !

काठमाडौं : नेपाल बक्सिङ संघ, संघभन्दा पनि परिवारिक अखडा भएको महसुस पछिल्लो समय बक्सिङप्रेमीले गर्दै आएका छन् । कुनै पनि काम गर्न न पदाधिकारीको बैठक बस्नु पर्छ न छलफल र माइन्युटमा लेख्नु नै आवश्यक ठहर्छ । अवाले दाजुभाइको सनकका भरमा संघको कामकारवाही हुँदै आएको छ । त्यसमा पनि अध्यक्ष राम देखाउने पात्र मात्र हुन, सबै काम भाइ श्यामको इच्छामा हुँदै आएको छ । त्यसैले बक्सिङ संघ, संघभन्दा पनि पारिवारिक अखडा बनेको गुनासो आम बक्सिङप्रेमीको छ । अझ रमाइलो त राम र श्यामलगायतका दाजुभाइको परिवार एउटै घरमा बस्दै आए पनि कतिपय निर्णय श्यामले आफूलाई गुमराहमा पारेर गर्ने गरेको अध्यक्ष राम अवालेले आफ्ना नजिकका व्यक्तिहरुसँग गुनासो गर्दै आएका छन् ।
केही दिनअघि बक्सिङ संघको विज्ञप्ति भन्दै खेलकुद पत्रकारहरुलाई एउटा इमेल पठायो । इमेलमा प्रेस विज्ञप्तिसँगै संघको लोगो पनि एटेज गरिएको थियो । विज्ञप्तिमा राष्ट्रिय खेलकुद नियमावली २०७७ विपरीत र कोरोना भाइरसको महामारीको समयमा विभिन्न जिल्ला संघ गठन गरिएको भन्दै खेद व्यक्त गर्नुका साथै ती जिल्ला संघलाई मान्यता नदिने जिकिर गरिएको छ ।
‘राष्ट्रलगायत विश्व नै कोरोना भाइरस (कोभिड –१९) को महामारीले ग्रस्त भइरहेको सर्वविदितै छ । राष्ट्रको खेलकुद क्षेत्रको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले यो महामारीबाट हुन सक्ने सम्भाव्य जोखिमलाई मध्यनजर गर्दै देशमा कुनै पनि प्रकारको खेलकुदका गतिविधिलगायत संघसंस्थाको कुनै पनि कार्यक्रम अर्काे सूचना नआएसम्मका लागि नगर्नु नगराउनु भन्ने मिति २०७६ फाल्गुन २८ मा परिपत्र भएकोले सोही अनुसार नेपाल बक्सिङ संघले मातहतका जिल्ला÷प्रदेशको गठन एवं अधिवेशन कार्यक्रम नगर्न, नगराउनु हुन सम्बन्धित सबै जिल्ला, प्रदेश बक्सिङ संघलाई जानकारी गराइन्छ’ संघका अध्यक्ष राम अवालेको नामबाट प्रेसित विज्ञप्तिमा भनिएको छ ।
२०७६ फागुन २८ को राष्ट्रिय खेलकुद परिषद्को पत्रको हवाला दिँदै विज्ञप्ति निकालेको नेपाल बक्सिङ संघले कोरोना भाइरसको महामारी र लकडाउनकै समयमा विभिन्न जिल्ला संघ गठन तथा पुनर्गठन गरेको पाइएको छ । महामारीकै समयमा कास्की, धादिङ र नवलपरासी जिल्ला पुनर्गठन गरिएको पाइएको छ । संघले बैशाखदेखि असार मसान्तको समयमा जिल्ला संघहरु गठन र पुनर्गठन गरेको हो । यसरी आफैले जिल्ला संघहरु गठन गर्ने अनि आफैले विज्ञप्ति निकालेर राखेपको निर्देशन र महामारीको समयमा गठन गरिएको भन्दै मान्यता नदिने ‘दोधारे नीति’ किन अवलम्वन गरियो भन्नेमा संघकै पदाधिकारीले आश्चर्य व्यक्त गरेका छन् ।
संघकै स्वीकृतिमा कास्की जिल्ला बक्सिङ संघको गठन गत असार १९ गते गरिएको थियो । जिल्ला गठनका लागि संघका केन्द्रीय सदस्य बुद्ध गुभाजु खटिएका थिए । उनकै रोहबरमा कास्की जिल्ला बक्सिङ संघ गठन गरिएको थियो । कास्कीसँगै धादिङ र नवलपरासीको जिल्ला संघ पनि कोरोना भाइरसको महामारीको समयमा राष्ट्रिय खेलकुद परिषद्को निर्देशनविपरीत गरिएको थियो ।
कास्की जिल्ला बक्सिङ संघ गठनमा सक्रिय भूमिका निभाएका बुद्ध गुभाजुले संघले जिल्ला गठनका लागि आफूलाई खटाएको जानकारी दिँदै केन्द्रको निर्देशन अनुसार नै काम गरेको दाबी गरे । ‘हामीले केन्द्रको निर्देशन अनुसार नै जिल्ला गठन गरेका हौं’, उनले भने, ‘जिल्ला गठन अलि अगाडि नै गर्नुपर्ने थियो । विभिन्न कारणले गर्दा ढिला भयो ।’ उनले संघको विज्ञप्ति आफ्ना लागि नभई यही समयमा गठन भएका केही जिल्ला संघहरुप्रति इंगित गरिएको पनि दाबी गरे । उनले गठन भइसकेका संघहरुको हकमा पुनः स्वीकृति लिएर त्यसलाई नै मान्यता दिन सकिने बताए ।

महामारीमै पूर्ण कार्यसमिति बैठक आह्वान
नेपाल बक्सिङ संघको चार वर्षे कार्यकाल गत जेठ २१ मै समाप्त भइसकेको छ । चार वर्षको अवधिमा एक पटक पनि पूर्ण कार्यसमितिको बैठक गर्न नसकेका संघका अध्यक्ष राम अवालेले आफ्नो कार्यकाल समाप्त भएपछि र महामारीको समयमा पूर्ण कार्यसमितिको बैठक बोलाएका छन् । साउन १५ गते बिहीबारका लागि आह्वान गरिएको पूर्ण कार्यसमिति बैठकमा पाँच वटा प्रस्ताव तय गरिएको छ ।
केही दिनअघि आफैले प्रेस विज्ञप्ति निकाल्दै महामारीका समयमा राखेपले कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएकाले त्यसको बर्खिलाप गठन भएका जिल्ला संघलाई मान्यता नदिने जिकिर गरेका राम अवालेले राखेपको निर्देशन र कोरोना भाइरसको महामारीका बेला पूर्ण कार्यसमितिको बैठक बोलाउनु नै रहष्यका रुपमा हेरिएको छ । ‘आफूले गर्दा जे पनि ठिक अरुले गर्दा बेठिक’ भन्ने मानसिकताबाट राम अवाले ग्रस्त रहेको यसबाट प्रष्ट हुन्छ ।
संघका केही पदाधिकारी मात्र उपत्यकामा रहेका छन् । अधिकांश पदाधिकारी उपत्यका बाहिर छन् । अहिले काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा छ । दिनहुँ संक्रमितको संख्या थपिरहेको छ । यस्तो अवस्थामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रहेका पदाधिकारीलाई भेला गराउनु उचित नभएको संघका एक सदस्यले बताए ।
नेपाल बक्सिङ संघ २५ सदस्यीय छ । चार वर्षको अवधिमा एक पटक पनि पूर्ण कार्यसमितिको बैठक बस्न सकेन । पूर्ण कार्यसमितिको बैठक भनेर बोलाए पनि अहिले पनि कोरम पुगेन । संघका पदाधिकारीको घर घरमा पुगेर पूर्ण कार्यसमिति बैठक बसेको भन्दै माइन्युटमा हस्ताक्षर गराइँदै आएको छ ।
पूर्ण कार्यसमितिको बैठक बस्न नपरोस् भनेर १३ सदस्यीय स्टेरिङ कमिटी बनाइएको छ । यही कमिटीले विधान विपरीत एवं विवादित निर्णय गर्दै आएको छ । स्टेरिङ कमिटीले गरेका निर्णयहरु पूर्ण कार्यसमितिमा छलफल चलाउने र त्यसपछि विशेष साधारणसभाबाट त्यसलाई पारित गर्नुपर्ने प्रावधान रहे पनि स्टरिङ कमिटीको निर्णयलाई नै अध्यक्ष अवालेले सर्वोपरी मान्दै आएका छन् । निर्वाचित कोषाध्यक्ष गौतम सुजखुको अधिकारी कटौती, कार्यबहाक कोषाध्यक्षमा राम गिरीको नियुक्ति, बैंक खातामा हस्ताक्षर परिवर्तन, १४ जिल्लामा शाखा विस्तार, १२ जना केन्द्रीय समितिमा मनोनयनलगायतका महत्वपूर्ण निर्णयहरु स्टेरिङ कमिटीको निर्णयका आधारमा गरिएको छ । यी निर्णय पनि स्टेरिङ कमिटीको बहुमतका आधारमा नभई अध्यक्ष राम र सदस्य श्याम अवाले बसेर माइन्युट लेख्ने र सदस्यहरुको घर–घरमा पुगेर निर्णयमा हस्ताक्षर गराउने गरिएको स्टेरिङ कमिटीका एक सदस्यले बताए । अझ हाँस्यापद त उपत्यका बाहिर रहेका केही पदाधिकारीलाई १० वटासम्म बैठकका लागि पहिले नै खाली कागजमा सही गराउने र पछि निर्णय गराउने बुझिएको छ ।
चार वर्षको अवधिमा पूर्ण कार्यसमितिको बैठक बस्न कोरम नपुगेको अवस्थामा कार्यकाल सकिएपछि चाहिँ किन पूर्ण कार्यसमितिको बैठक बस्नुपर्ने ? भन्दै उपत्यका बाहिर रहेका केही पदाधिकारीले अध्यक्ष अवालेको झाँको झारेको बुझिएको छ ।
बिहीबार बस्ने पूर्ण कार्यसमितिको बैठकका लागि पाँच वटा प्रस्ताव तय गरिएको छ–पेश्की फछ्यौट, वार्षिक लेखा परीक्षण, सुशासन, नयाँ खेलकुद ऐन २०७७ को पालना र विविध ।
अरु प्रस्तावमा समस्या नभए पनि संघलाई सबैभन्दा ठूलो समस्या पेश्की फछ्र्यौट र लेखा परीक्षणका लागि छ । संघले लामो समयदेखि पेश्की फछ्र्यौट गर्न सकेको छैन । पेश्की फछ्यौट गर्न नसक्दा १३औं दक्षिण एसियाली खेलकुदको पुरस्कार रकम संघले पाउन सकेन । त्यो रकम प्राप्त गर्न पनि संघ पेश्की फछ्र्यौट गर्न लागिपरेको छ । यसका लागि अध्यक्ष राम अवालेलगायतले निकै पापड बेल्नुपर्ने देखिन्छ । संघका निर्वाचित कोषाध्यक्षलाई हटाएर कार्यबहाक कोषाध्यक्ष बनाएका अवालेले सबै हिसावकिताव कसरी दुरुस्त राख्न सक्छन् ? चार वर्षे कार्यकालमध्येको आधा हिसाव गौतम सुजखुसँग छ भने आधा कार्यबहाक कोषाध्यक्ष राम गिरीसँग । दुवैको हिसाव दुरुस्त बनाएर पेश्की फछ्र्यौट गर्नु उनका लागि निकै चुनौतीपूर्ण देखिएको छ ।

पूर्ण कार्यसमितिका लागि पदाधिकारीलाई फेसबुक मेसेन्जरमा पठाएको सूचना जस्ताको तस्तै :

बिषय : नेपाल बक्सिङ्ग संघ पूर्ण कार्यसमितिको बैठक सम्बन्धमा ।
आदरणीय केन्द्रीय समितिका पदाधिकारीहरुज्यू,
आशा छ यहाँहरु सबैजना स्वस्थ र आराम हुनुहुन्छ। ४ महिनाको पूर्ण लकडाउन पश्चात आजबाट क्रमिक रूपमा लकडाउन खुकुलो बनाउदै जाने नेपाल सरकारको निर्णय अनुसार परिस्थिति सुधार हुदै जाने र भाद्र १ गतेबाट तालिम प्रशिक्षण लगायतका खेलकुदका गतिविधिहरु सञ्चालन गर्नको निमित्त आवश्यक स्विकृति दिने मिति २०७७÷४÷५ गतेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको विधितै छ र तत् सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् बाट पनि आवश्यक निर्देशन आउने छ र सो अनुसार नै संघका गतिविधिहरु पनि अगाडि बढाउने जानकारी यहाहरु समक्ष गराउन चाहान्छु।
विगत ४÷५ महिनादेखि कोरोना महामारीकै कारण संघको फेस टु फेस पूर्ण कार्यसमितिको बैठक बस्न नसकिएकोले निम्न मिति,समय र स्थानमा संघको पूर्ण कार्यसमिति बैठकको आह्वान गरेको छु । यस बैठकमा यहाहरु सबैजनाको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु । कथमकदाचित यातायातको असुविधाको कारण बैठकमा सहभागी हुन असमर्थ भएमा भिडियो वा लिखित रुपमा आफ्नो धारणा राख्न पाउने र सोही धारणालाइ बैठकमा निजको उपस्थिति मानिने समेत जानकारीका लागि अनुरोध छ ।
बैठकमा बस्ने
मिति : २०७७/४/१५ गते बिहिबार
समय : दिनको ४ : ०० बजे
स्थान : नेपाल बक्सिङ्ग संघको केन्द्रीय कार्यालय , सातदोबाटो, ललितपुर ।
प्रस्तावहरु :
क) संघको पेश्की फर्छ्यौट सम्बन्धमा
ख) आर्थिक र लेखा परीक्षण प्रतिवेदनको फाइनलाइज गर्ने सम्बन्धमा
ग) सुशासन
घ) खेलकुद ऐन–२०७७ को निति नियम परिपालना गरि अगाडि बढ्ने सम्बन्धमा
ङ) विविध ।

राम अवाले
अध्यक्ष
नेपाल बक्सिङ्ग संघ

1 1 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments