बक्सिङ संघमा पुस्कर पन्तको शंकास्पद् भूमिका : पहिले राजीनामा अहिले सक्रिय

काठमाडौं : भनिन्छ कहिँ नभएको जात्रा हाँडीगाउँमा हुन्छ । यही प्रसंग नेपाली खेलकुदमा भने नेपाल बक्सिङ संघमा लागु हुने गरेको छ । अध्यक्ष राम अवालेको असक्षमता, अकर्मन्यता, नातावाद र कृपावादका कारण विगत लामो समयदेखि नेपाल बक्सिङ संघभित्र गाईजात्रा चलिरहेको छ ।
स्रोतका अनुसार पछिल्लो समय संघमा गाईजात्रा चलाउने व्यक्तिमध्येका एक हुन्, पुस्कर पन्त । उनका कारण सिंगो नेपाली बक्सिङ विवादमा मात्र परेको छैन, अध्यक्ष राम अवालेको पनि चर्को विरोध हुन थालेको छ ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) अघि नेपाल बक्सिङ संघले आईबा वान स्टार आरजे कोर्स सञ्चालन गरेको थियो । आरजे कोर्सका लागि संघको निर्वाचित तथा मनोनित पदाधिकारी, प्रशिक्षक र सरकारी सेवामा कार्यरत व्यक्तिहरु अयोग्य हुने प्रावधान आईबाले स्पष्ट पारेको थियो । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) को प्रावधान बमोजिम नै नेपाल बक्सिङ संघले वान स्टार आरजे कोर्समा सहभागी हुनका लागि आह्वान गरेको थियो ।
निवेदन दिएका २३ जनालाई सहभागी आरजे कोर्समा समावेश गर्ने भन्दै संघले माइन्युट नै गरेको थियो । पछि त्यसमा फेरबदल गर्दै अध्यक्ष राम अवालेले आफू नजिकका केही व्यक्तिलाई कोर्समा सहभागी गराएर लामो समयदेखि रेफ्री गर्दै आएका व्यक्तिहरुलाई अन्याय गरेका थिए । वान स्टार आरजे कोर्समा सहभागी हुन पुस्कर पन्तले संघको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । राजीनामा पेस गरेपछि उनी आरजे कोर्समा सहभागी भएका थिए । संघको माइन्युटमा पनि पन्तले केन्द्रीय सदस्य र धनकुमार मैनालीले प्रशिक्षकबाट राजीनामा दिएको उल्लेख गरिएको छ ।

पन्तले केन्द्रीय सदस्यबाट राजीनामा दिए पनि अध्यक्ष राम अवालेले त्यसलाई लामो समयसम्म आफ्नो गोजीमा राखे । राजीनामा स्वीकृत गरेनन् । त्यसकै फाइदा उठाउँदै पन्त संघमा फेरि सक्रिय भए । उनी संघको निर्णय प्रक्रियामा पनि सहभागी भए ।
गत साउन १५ र १६ गते गोदावरीमा भएको संघको केन्द्रीय कार्यसमिति बैठकमा पनि पन्त सहभागी भएका थिए । उनी बैठकमा सहभागी मात्र भएका छैनन्, हरेक निर्णयमा समेत हस्ताक्षर गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय बक्सिङ संघको प्रावधान र निर्देशनलाई लत्याउँदै पुस्कर पन्त संघको कामकारवाहीमा सक्रिय हुँदा पनि अरु पदाधिकारी मौन बस्नुलाई रहस्यका रुपमा हेरिएको छ । हुन त पछिल्लो समय संघमा ‘तोम शरणम्’ गर्ने व्यक्तिहरु मात्र छन् । अध्यक्ष राम अवालेले जे भन्यो, त्यसैमा हो मा हो मिलाउनेहरुले आईबाको प्रावधानलाई बुझ्न पनि कसरी सकुन् ! संघ सञ्चालनमा दख्खल राख्ने र अन्तर्राष्ट्रिय मापदण्डका बारेमा जानकार व्यक्तिहरुलाई पाखा लगाएर आफू अनुकुलका व्यक्तिलाई मात्र काखी च्याप्नेलाई आईबाको विधिविधान र मूल्यमान्यताको के मतलब ? यस्तै गलत प्रवृत्तिकै कारण राम एन्ड श्याम अवाले कम्पनी पछिल्लो समय विवादको भूमरीमा फस्दै आएको छ ।
वान स्टार आरजे कोर्सका लागि राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गरेको थियो । सरकारको लगानीबाट देशका लागि अन्तर्राष्ट्रिय रेफ्री जर्ज भइसकेका पुस्कर पन्तले राम अवालेको बहुमत पु¥याउन दिएको बलिदान पनि रहष्यमय छ । उनले राम अवालेको गलत हर्कतमा हो मा हो मात्र मिलाइरहेका छैनन्, राज्यमाथि पनि गद्दारी गरेका छन् । राज्यको ढुकुटी रित्याएर रेफ्रीजर्ज हुने अनि कसैको स्वार्थका लागि काम गरेर राज्यमाथि पनि गद्दारी गर्ने काम पुस्कर पन्तले गरिरहेका छन् ।
हुन त पुस्कर पन्त त्यस्ता व्यक्ति हुन्, जो राम अवालेको चाकडी गरेकै भरमा फाइदै फाइदामा रहँदै आइरहेका छन् । जुनियर वल्र्ड च्याम्पियनसिपलगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत उनी प्रशिक्षकको कोटामा आफै गएका थिए । स्वदेशमा हुने हरेक प्रतियोगितामा रेफ्री जर्ज बसेर फाइदा लिँदै आएका उनी राम अवालेको चाकडी गरेर विदेशमा पनि सयर गर्दै आएका छन् । नेपालमा रेफ्री जर्ज बन्ने, विदेश जानु परेमा कहिले प्रशिक्षक त कहिले व्यवस्थापकको बिल्ला भिर्दै आइरहेका छन्, उनी । त्यसैले संघमा बसेर जताततै तर मार्न पल्केका उनी रेफ्री जर्जमा मात्र किन सीमित हुन सक्थे र ! त्यही भएर राज्यले गरेको लगानी र बक्सिङको अन्तर्राष्ट्रिय निमायक निकायको मापदण्डलाई समेत तिलाञ्जलि दिएर उनी संघमा सक्रिय भइरहेका छन् ।
संघको केन्द्रीय सदस्यबाट राजीनामा दिएर पनि फेरि सक्रिय भएको सम्बन्धमा पन्तसँग बुझ्ने प्रयास गरिएको थियो । उनलाई धेरै पटक फोन गर्दा पनि फोन उठाएनन् । उनले आफू अनलाइन ट्रेनिङमा रहेको भन्दै भेटेरै कुरा गर्ने म्यासेज पठाएका थिए । तर, त्यसपछि पनि पटक पटक प्रयास गर्दा उनले भेट्न चाहेनन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments