बक्सिङ संघमा विवादै विवाद : अध्यक्ष अवालेले आर्थिक अनियमतता गरेको आरोप

काठमाडौं : नेपाल बक्सिङ संघ विवादको भूमरीमा परेको लामो समय भइसकेको छ । चार वर्षअघि राम अवाले अध्यक्षमा निर्वाचित भएदेखि नै संघभित्र विवाद हुँदै आएको छ । अवालेले विधान विपरीत आफूखुसी काम गरेको र संघलाई पारिवारिक हिसावमा चलाएको भन्दै पदाधिकारीले असन्तुष्टि जनाउँदै आएका छन् । राम अवाले नेतृत्वको चार वर्षे कार्यकाल गत जेठ २१ मा सकिएको छ । कोरोना भाइरसको महामारीको असमान्य परिस्थिति र नयाँ खेलकुद ऐन जारी नभएका कारण अझै केही समय राम अवालेले संघको नेतृत्व गर्न पाउने छन् ।

बक्सिङ संघमा नयाँ नेतृत्वको रस्साकस्सी सुरु हुँदै गर्दा आर्थिक अनियमितताको विषय पनि सतहमा आएको छ । संघका निर्वाचित कोषाध्यक्ष गौतम सुजखुलाई हटाएर सदस्य राम गिरीलाई कार्यवहाक कोषाध्यक्ष बनाएका कारण संघमा व्यापक आर्थिक अनियमितता भएको संघका पदाधिकारीले नै आशंका गरेका छन् । उनीहरु कार्यबहाक कोषाध्यक्षसँग मिलेर अध्यक्ष अवालेले ठूलो आर्थिक चलखेल गरेको दाबी गर्छन ।

संघका कोषाध्यक्ष सुजखु अध्यक्षको मनोमानी र आर्थिक अपारदर्शीताका विरुद्धमा आवाज उठाउँदा आफूलाई अवैधानिक रुपमा जिम्मेवारीबाट हटाएको दाबी गरे । ‘अध्यक्षको मनोमानी र आर्थिक अपारदर्शीताका बारेमा आवाज उठाउँदा म स्वदेशमा नभएको मौका छोपेर जिम्मेवारीबाट हटाउने र विधानविपरीत कार्यवहाक कोषाध्यक्ष नियुक्त गरेर आर्थिक चलखेल गर्ने काम भएको छ’, सुजखु भन्छन्, ‘यसको हिसावकिताव अध्यक्षले आगामी साधारणसभामा दिनुपर्नेछ ।’
करिब दुई वर्षअघि एसियाली खेलकुदको तयारीका लागि थाइल्यान्डमा प्रशिक्षणमा रहेका खेलाडीलाई पैसा पठाउन सुजखुले नमानेको भन्दै गिरीलाई कार्यबहाक तोकिएको थियो । संघका अध्यक्ष अवालेले सुजखुलाई हटाउने प्रस्ताव गरे पनि त्यतिखेर बहुमत पुगेन । संघका २५ सदस्यमध्ये बहुमतका लागि १३ जनाको हस्ताक्षर चाहिने भएपछि थाइल्यान्डमै रहेका प्रशिक्षक तथा संघका सदस्य दीपक महर्जनलाई रातारात काठमाडौं बोलाइएको थियो भने धेरै जनाको घरघरमा पुगेर माइन्युटमा सही गराइएको थियो । त्यही माइन्युट पेस गरेर सुजखुको सहीको सट्टामा चेकमा गिरीको सही चलाएको थियो ।

कोषाध्यक्ष सुजखु अध्यक्ष अवालेको अकर्मन्यता र बौलट्टीपनले आगामी साधारणसभामा आर्थिक प्रतिवेदन नै प्रस्तुत गर्न नसक्ने अवस्था आइपर्ने बताउँछन् । ‘मसँग थोरै हिसावकिताव मात्र छ । मलाई हटाएर गिरीको सही चलाएपछिको आर्थिक हिसावकितावका बारेमा मलाई केही पनि थाहा छैन । यस्तो अवस्थामा न मैले आर्थिक प्रतिवेदन पेस गर्न सक्छु न त कार्यबहाक कोषाध्यक्षले पेस गरेको प्रतिवेदन नै वैधानिक ठहर्छ’, सुजखु प्रश्न गर्छन् ।

संघको २०६४ को विधान अनुसार सदस्यता खारेजी सम्बन्धी विभिन्न प्रावधान हुँदाहुँदै पनि सामान्य बहुमतका आधारमा निर्वाचित कोषाध्यक्ष सुजखुको अधिकार कुण्ठित पारिएकोमा त्यतिखेर संघकै सदस्यहरुले विरोध गरेका थिए । विधान विपरीत कार्यबहाक कोषाध्यक्ष थप गरेर गैरकानुनी रुपमा संघको पैसा चलाउने काम भएको संघका एक सदस्यले बताए । ‘सामान्य बहुमतले कसैको अधिकार कटौती गर्ने र कसैलाई बढी अधिकार दिने प्रावधान विधानमा छैन । विशेष साधारणसभाबाट मात्रै कसैलाई हटाउने र राख्न सकिने प्रावधान छ । तर सामान्य बहुमतबाटै कोषाध्यक्षको अधिकार कटौती गरिएको छ भने कसैलाई बढी अधिकार दिइएको छ’ ती सदस्य भन्छन्, ‘गैरकानुनी रुपमा कार्यबहाक कोषाध्यक्ष राखेर संघको पैसा आफूखुसी चलाइएको छ ।’ उनका अनुसार सानिमा विकास बैंक सातदोबाटोमा अध्यक्ष र कार्यबहाक कोषाध्यक्ष रामबहादुर गिरीले हस्ताक्षर गरेर जथाभावी पैसा निकाल्ने काम भइरहेको छ ।

संघका अर्का सदस्यले पनि अध्यक्ष राम अवालेले मनपरी रुपमा संघको पैसा खर्च गर्दै आएको दावी गरे । ‘संघमा आर्थिक पारदर्शिता नै छैन । संघको पैसा मनपरी रुपमा खर्च गरिँदै आएको छ’, उनले भने ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments