काठमाडौं : भोटेकोशीमा आएको आकस्मिक महाबाढीलाई जलवायु परिवर्तन र ग्लोबल वार्मिङको परिणाम मान्न सकिने विज्ञहरूले बताएका छन्। बुधबार आएको महाबाढीपछिको कारण के हो भन्ने विषयमा तर्कवितर्क हुँदै आए पनि यसलाई जलवायु परिवर्तनको उपज मान्नुपर्ने कृषि, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बताए।
अल्पविकसित देशहरूको सहायता टोली (एलडीसी) का प्रमुख तथा जलवायु अध्येता मञ्जित ढकाल पनि रसुवामा आएको बाढीको घटनालाई जलवायु परिवर्तनको कारण मान्नुपर्ने बताउँछन्। ‘कुनै पनि घटना भइसकेपछि जलवायु परिवर्तनसँग सम्बन्ध के छ भनेर विशेष अध्ययन गरिन्छ,’ उनले भने, ‘यसलाई क्लाइमेट एटिब्युसन भन्छौं। यो घटनाको सम्बन्ध एकदम स्पष्ट देखिन्छ। सामान्य हिसाबमा बुझ्दा तापक्रम बढेपछि हिउँ पग्लिन्छ। आईपीसीसी रिपोर्टहरूले पनि यस्ता खालका घटना हुन्छ भनेर भनिसकेको छ। अझ मैले गरेको अध्ययनले त यस्ता घटना तीन गुणाले हुन्छन् भनेको छ। त्यसैले यसलाई जलवायु परिवर्तनको कारण भएको भन्न मिल्छ।’
भोटेकोशी बाढीको घटनाले जलवायु परिवर्तनले कस्तो विपत्ति निम्त्याउँदैछ भन्ने विषयलाई अन्तर्राष्ट्रिय रूपमा लैजानुपर्ने कृषि, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता ढकालले बताए। यस विषयमा जलवायु परिवर्तनका विभिन्न फोरमहरूमा आवाज बुलन्द पारेर लैजाने तयारी सरकारले गरेको उनले जनाए।
अन्तर्राष्ट्रिय फोरममा नेपालले पाउने जलवायु न्यायका लागि आवाज बुलन्द बनाउने र त्यसका लागि प्रारम्भिक तयारी पहिला नै गरेको उनले जनाए। विगतमा पनि हिमाल तथा जलवायु वित्त मुख्य एजेन्डा भए पनि अझै यसलाई बलियोसँग उठाउने ढकालले बताए।ढकालले भने ‘विगतमा सामान्यतः हिमालका विषयहरू र जलवायु वित्तलाई एजेन्डाको रूपमा राख्ने गरिन्थ्यो। तर, पहिलाको पाराले मात्रै पुग्दैन। अहिलेको स्थिति फरक भइसक्यो।’
पृथ्वीको तापक्रम न्यूनीकरण गर्न तथा जैविक इन्धन घटाउनमा केन्द्रित हुनुपर्ने पनि उनले बताए। जोखिममा रहेको नेपालजस्तो देशले जलवायु न्याय र जलवायुवित्त, प्रविधिको विकास र विस्तार, क्षमता विकासका कुराहरू पहिलाको स्तरमा मात्रै गरेर नहुने तर्क पनि उनले गरे।
प्रारम्भिक अनुमानमा भोटेकोशीको बाढी जलवायु परिवर्तनका कारण आएको भनिएको र यसले गरेको हानिनोक्सानीको विषयका बारेमा अन्तर्राष्ट्रिय समुदायसँग नेपालले परामर्श गरिरहेको पनि उनले जनाए। ‘सायद नेपालको इतिहासमा यति ठूलो घटना कहिले भएको थिएन,’ ढकालले भने, ‘विगतमा जलवायु परिवर्तनले पीडित हांै भनेर बोल्दा सैद्धान्तिक हिसाबले बोले पनि अब अनुभवका आधारमा बोल्नेछौ। कति गम्भीर छ भनेर संसारले देखिसक्यो।’कोपजस्ता सम्मेलनहरूमा व्यवस्थित तरिकाले आवाजहरू लैजानुपर्ने र सरकारी प्रतिनिधिहरूले मजबुद तरिकाले प्रस्तुत गर्नुपर्ने ढकालले बताए। ‘तथ्य र डाटाअनुसार बोल्नुपर्छ,’ उनले भने, ‘जलवायु वित्त, जलवायु अनुकूलन, प्रविधिका पाटोमा सशक्त आवाज उठाउनुपर्छ।’
विपद् ट्रान्सवाउन्डरी घटना बन्योः ढकाल
पछिल्लो समय विपद्का घटना एक देशमा मात्रै सीमित नरहेको ढकालले बताए। जुन किसिमका बाढीहरू आइरहेका छन्। अब यसलाई ट्रान्सवाउन्डरी एप्रोचमा लैजानुपर्ने उनले सुझाए। ‘बाढीपहिरोका घटनामा नेपालमात्रै नभएर भारत र चीन पनि जोडिन थाले,’ उनले भने, ‘एक ठाउँमा बाढी अर्को ठाउँमा प्रभाव पर्न थाल्यो। प्रभावको रूप झन् गम्भीर र विकराल भएर गयो। त्यसैले तीनवटा राष्ट्रहरू मिलेर हाम्रा जनतालाई कसरी जोगाउने भन्ने सन्दर्भमा सहकार्य गर्ने बेला भइसक्यो। इसिमोडजस्तो संस्थालाई अध्ययन, अनुसन्धान गर्ने संस्थालाई अझ बढी मजबुद बनाएर अझै प्रभावकारी बनाउनुपर्छ।’
के गर्दैछ मन्त्रालय ?
उद्धार तथा राहतको व्यवस्थापन लगत्तै सरकार यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गरेर प्राप्त भएका खाद्यान्नहरू प्रभावित क्षेत्रमा पुर्याउने काम गरिरहेको छ। ‘मानिसमात्रै नभएर धेरै पशुचौपायाहरूको मृत्यु भएकाले थप रोगव्याधी र महामारी नफैलियोस् भनेर सरकार व्यवस्थापनमा लागेको छ,’ ढकालले भने, ‘यतिबेला बाढीले भवनहरू बस्न नमिल्ने अवस्थाका छन्। भत्किएका छन्, सामानहरू नष्ट भएका छन् र त्यस्तो ठाउँमा व्यवस्थापनका लागि पनि मन्त्रालयले काम गरिरहेको छ।’
चिनियाँ एकेडेमी अफ साइन्सले तिब्बतको बारेमा विस्तृत रिसर्च गरेर तथ्यांक लिएर चिनियाँहरूले नेगोसिएसन गरेको ढकालले बताए। ढकालले थपे ‘जलवायु परिवर्तनको विषयमा चीनको सन्तुलित एप्रोच छ। उनीहरूले विज्ञानका हिसाबमा जी ७७ दाखिल गरेर एकदमै उत्कृष्ट मेकानिजम तयार गरेका छन्। यस घटनाको विषयमा पनि एकदमै राम्रोसँग समन्वय गरिरहेका छन्।’
ग्लोबल वार्मिङको भूमिका स्पष्ट छ : उपाध्याय
जलाधारविज्ञ, मधुकर उपाध्याय पनि भोटेकोशीमा आकस्मिक बाढी आउनुको पछाडि ग्लोबल वार्मिङको भूमिका देखेको बताउँछन्। ‘हिउँ पग्लिनलाई तापमान वृद्धिको भूमिका काफी भयो,’ उपाध्यायले भने, ‘पृथ्वी तातिएको हुनाले हिउँ पग्लियो। तर जलवायुको भूमिका कस्तो छ भन्नलाई अध्ययन नै चाहिन्छ। त्यसैले पनि मान्छेहरूले जलवायुको कारण यस्तो भएको हो भन्नलाई हिच्किचाएका छन्।’
ठूलाठूला पहिरो गए, हिउँ तल खसेपछि पुनः अर्को पहिरो गएको उपाध्यायले बताए। ‘हिउँ, चट्टान र पहिरोका कारणले ठूलो क्षति गर्यो,’ उनले भने, ‘ यस्ता घटना अनुमानित नै थिए। यो पक्कै ग्लोबल वार्मिङको कारण थियो। यसमा विवाद उपयुक्त हुँदैन।’ तर यस घटनाबाट पाठ सिक्नुपर्ने पनि उनले बताए। सरकारको तर्फबाट विपद्पछिको भूमिका एकदमै प्रशंसनीय रहेको पनि उनले जनाए।
सीमापार बहुजोखिमको अनुगमन आवश्यकः अधिकारी
पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक डा. वसन्तराज अधिकारीको समूहले भोटेकोशीमा आकस्मिक बाढीको विषयमा विश्लेषण गरेर प्रतिवेदन तयार गरेको छ। यस घटनाले हिमालय क्षेत्रमा आकस्मिक बाढीको जोखिम बढ्न सक्ने देखिएको उक्त टोलीले सुझाएको छ। हिउँको अवस्था, भूआकृति विज्ञान, जलविज्ञानको प्रक्रियाले वर्षा नभएको अवस्थामा पनि आकस्मिक बाढी ल्याउन सक्ने खतरा रहेको प्रतिवेदनमा उल्लेख छ।
यस्ता विषय व्यवस्थापन गर्न सीमापार बहुजोखिमको अनुगमन आवश्यक रहनुका साथै, तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली, रियल टाइम नदी तथा स्याटाइट अनुगमनलगायतका विषय महत्वपूर्ण रहेको प्रतिवेदनमा छ। चीनसँग हिमनदीहरूको बारेमा वास्तविक समयको हिमताल तथा हिमनदीको अवस्था, वरफहरूको अवस्था, पहिरो तथा हिमपहिरोको बारेमा सूचना आदानप्रदान आवश्यक देखिन्छ। हिमालीमा कस्ता प्रवृत्तिका विपद्हरू उत्सर्जित छन् भन्ने विषय निकै महत्वपूर्ण बन्दै गएको छ।
इसिमोडले मार्च २१ मै चेतावनी दिएको थियो अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले मार्च २१ मै हिन्दुकुश हिमालय क्षेत्रमा २७ मिटर हिउँको मोटाइ हराइसकेको यथार्थ विवरण सार्वजनिक गरेको थियो। सन् २००० पछि हिउँ पल्लिने दर पनि दोब्बर भएको इसिमोडले जनाएको थियो। इसिमोडको प्रतिवेदनमा सन् १९७५ देखि २०२० सम्मको हिन्दुकुश हिमालय क्षेत्रको हिउँको अवस्थाबारे अध्ययन गरिएको थियो। प्रतिवेदनले ग्लोबल वार्मिङका कारण हिमालमा हिउँ कसरी हराइरहेको छ भन्ने प्रष्ट्याएको थियो। इसिमोडका डाइरेक्टर जेनेरल पेमा ग्याम्स्तोले कुनै पनि बेला विनाशकारी बाढी आउन सक्ने भन्दै त्यतिबेलै सचेत गराएका थिए।
इसिमोडको प्रतिवेदनले भनेको थियो, ‘हिन्दुकुश हिमालय क्षेत्रमा अत्यधिक धेरै हिउँ रहेको छ। ६३ हजार ७ सय वटा हिमनदीले करिब ५५ हजार ७ सय ८२ स्क्वायर किलोमिटर ठाउँ ओगटेको छ। तर, समुद्री सतहबाट ४५ सयदेखि ६ मिटर माथिका हिमनदी क्षेत्रमा उचाइअनुसार हुने तापक्रम वृद्धिको उच्च जोखिममा रहेको प्रतिवेदनले देखाएको थियो।
उक्त प्रतिवेदन सार्वजनिक गर्दै इसिमोडका डाइरेक्टर जेनेरल ग्याम्स्तोले उक्त समस्यालाई टाढाको समस्या नभएर वास्तविक समयमा घटिरहेको संकटले भएको बताएका थिए। ‘यसै शताब्दीमा वरफ पग्लिने दर दोब्बर भएको तथ्यले स्तब्ध बनाएको छ। यो क्षेत्र गम्भीर मोडमा पुगेको छ। त्यसैले यसका लागि गम्भीर कदम चाल्नुपर्छ’ ग्याम्स्तोले भनेका थिए, ‘कुनै पनि बेला विनाशकारी बाढी निम्त्याउन सक्छ। यसले पानीको अनिश्चितता थपेको छ। त्यसैले अनुकूलनका क्षेत्रमा तत्काल लगानी गर्नुपर्छ।’

नेपालमाला
