बक्सिङ संघमा बेथिति : अध्यक्ष अवालेको अकर्मन्यताले विधानको धज्जी

काठमाडौं : नेपालका अधिकांश खेल संघहरु राष्ट्रिय खेलकुद परिषद् (राखेप)को अधिनमा रहन्छ । राखेपको विधिविधान र ऐननियम अनुसार सञ्चालन हुने गर्दछ । अधिकांश संघ राखेपकै विधान अनुरुप सञ्चालन हुँदै आएका छन् । राखेपमा दर्ता भएका पुराना संघमध्ये नेपाल बक्सिङ संघ पनि एक हो । तर, बक्सिङ संघले न राखेपको ऐन नियम र कानुनलाई मानेको छ, न त आफ्नै विधानलाई नै । अध्यक्ष राम अवालेको महत्वकांक्षा, अकर्मन्यता र परिवारवादका कारण सिंगो बक्सिङ संघ बेथितिको अखडा बन्न पुगेको छ ।
‘अध्यक्ष राम अवाले आफै निर्णय गर्न सक्तैनन् । अरुको इसाराबाट सञ्चालित हुँदा संघलाई बेथितिको अखडा बनाउँदै आएका छन्’, संघका एक सदस्य भन्छन् । राखेपको ऐन नियम र संघको विधानलाई नै तिलाञ्जलि दिइरहेका छन् । अवालेको मनोमानी र विधानविपरीतको हर्कतलाई नियमन निकाय राष्ट्रिय खेलकुद परिषद्ले पनि आँखा चिम्लिदिँदा संघमा बेथिति मौलाएको छ । नियमन निकायले आँखा चिम्लिदिँदा संघ भ्रष्टाचार र अनियमितताको अखडा बन्न पुगेको आरोप बक्सिङ संघकै पदाधिकारीले लगाउँदै आएका छन् ।
दुई वर्षअघि अध्यक्ष अवालेको ठाडो निर्देशनमा निर्वाचित कोषाध्यक्ष गौतम सुजखुको अधिकार खोस्दै सदस्य राम गिरीलाई कार्यबहाक कोषाध्यक्ष नियुक्त गरियो । संघको विधान र प्रचलित ऐन कानुनविपरीत अधिकार खोसेको र कार्यबहाक कोषाध्यक्ष नियुक्त गरेर आर्थिक अनिमियतता गरेको भन्दै सुजखुले राखेप, युवा तथा खेलकुद मन्त्रालय र अख्तियारमा समेत उजुरी दिए । तर, त्यसको सुनुवाइ कतैबाट पनि भएन । राखेपलगायत निकायका केही व्यक्तिलाई हातमा लिएपछि महत्वपूर्ण विषयलाई नजरअन्दाज गर्ने काम भयो ।
बक्सिङ संघको विधान अनुरुप २६ जिल्ला अस्तित्वमा छ र केन्द्रीय कार्यसमिति २५ जनाको हुने उल्लेख छ । तर, अध्यक्ष अवालेले केही व्यक्तिको उक्साहटमा थप १४ जिल्लामा शाखा विस्तार गरे भने १२ जनालाई संघको केन्द्रीय सदस्यमा मनोनीत गरे । कुनै पनि नयाँ सदस्यता प्रदान गर्दा विशेष अधिवेशनबाट गर्नुपर्ने संघको विधानलाई नै जिल्ला विस्तार र नयाँ सदस्यता थप गर्दा बेवास्ता गरिएको छ । संघको बहुमत सदस्यका आधारमा गरिएको जिल्ला विस्तार र सदस्य मनोनय संघकै विधान विपरीत देखिएको छ । अझ रमाइलो कुरा त नयाँ थपिएका जिल्लामा न बक्सिङको कुनै गतिविधि हुन्छ न त कुनै खेलाडी नै छन् । भोटका लागि मात्र नयाँ जिल्ला थपिएको प्रस्ट देखिएको छ । बक्सिङका गतिविधि हुँदै आएको जिल्लालाई भने सदस्यता दिइएको छैन । ‘अहिले भएको २६ जिल्लालाई त न खेल सामग्री दिन सकेको छ, न त प्रशिक्षक नै’, संघका एक सदस्य भन्छन्, ‘भोटका लागि जिल्ला थप्नु न्यायोचित छैन ।’
नेपाल बक्सिङ संघका महासचिव भट्टाचार्य शाखा विस्तार र सदस्यता थप गर्ने निर्णय विधानसम्मत नभएको बताउँछन् । ‘शाखा विस्तार र सदस्य मनोनयन नै त्रुटी पूर्ण छ । विधानले २५ जनाको मात्रै कार्यसमिति तोकेको छ । त्यसबाहेक थप गर्न त्यसको औचित्य पुष्टि हुनु पर्दछ । औचित्य पुष्टि भएर मात्र पुग्दैन, सर्वसम्मत रुपमा विधान संशोधन गरी साधारणसभाबाट पारित गर्नुपर्छ । तर, अध्यक्षले केही व्यक्तिको उक्साहटमा शाखा थप्ने र सदस्यता वितरण गर्ने काम गर्नु भएको छ’ महासचिव भट्टाचार्यले भने ‘जुन विधानको बर्खिलापमा छ ।’
संघका सदस्य ओमनारायण श्रेष्ठ अध्यक्ष राम अवाले बक्सिङ बुझेको व्यक्ति भए पनि अरुको सल्लाह र इशारामा चल्दा विधानविपरीत काम गर्दै आएको बताउँछन् । ‘राम अवाले केही व्यक्तिको गिरोहमा परेका छन् । अरुको इशारामा चल्दा उनले विधानको ख्यालै गर्दैनन्’ ओमनारायण भन्छन्, ‘राम अवालेले संघलाई आफ्नो घर जसरी चलाउँदै आएका छन् । यसले गर्दा समस्या भएको छ ।’

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments