काठमाडौं : राम अवालेले एक साताअघि आफू नजिकका केही पत्रकारलाई चार पन्ने विज्ञप्ति पठाएका थिए । लामो विज्ञप्तिमा उनले आफूलाई निकै सक्षम र काविल अध्यक्ष मात्र होइन, प्रचलित ऐन कानुन र संघको विधान र नियमायक निकाय राष्ट्रिय खेलकुद परिषद्को निर्देशनलाई अक्षरसः पालना गर्दै आएको दलिल पेस गरेका थिए । सो विज्ञप्तिमा पहिलो दक्षिण एसियाली खेलकुदमा बाई पाएर फाइनलमा पुगेर रजत पदक जितेकोदेखि संघले गरेका विभिन्न कामकारवाहीका बारेमा विभिन्न सञ्चार माध्यममा आएका विषयहरुलाई प्रष्ट्याउने काम गरेका थिए ।
तर, त्यो विज्ञप्तिको मसी सुक्न नपाउँदै राम अवालेले अर्को फट्याइँ गरेका छन् । नेपाल बक्सिङ संघको चार वर्षे कार्यकाल गत जेठ २१ गते नै समाप्त भइसकेको छ । संघ अहिले काम चलाउको रुपमा छ । तर, राम अवालेले कोरोना भाइरसको महामारी र पदावधि सकिएको संघमा पनि भटाभट आफूखुसी विभिन्न निर्णय गरिरहेका छन् ।
पछिल्लो समय संघका स्वघोषित प्रवक्ता श्यामकाजी अवालेले जारी गरेको विज्ञप्तिमा गत साउन १६ गतेको बैठकको निर्णयलाई दुहाई दिँदै नयाँ सदस्य मनोनीत गरिएको जनाइएको छ । लामो समयपछि कोरोनाको महामारी र राष्ट्रिय खेलकुद परिषद्ले गत फागुन २८ गते दिएको निर्देशनविपरीत कार्यसमिति बैठक बोलाएर संघले विभिन्न निर्णय गरेको थियो । जबरजस्ती गरिएको निर्णयमा महासचिव र कोषाध्यक्षले हस्ताक्षर नगरी बैठक छाडेका थिए । उनीहरुलाई हस्ताक्षर गर्न दबाब दिँदै अभद्र व्यवहार पनि गरिएको थियो । महासचिव र कोषाध्यक्षलगायतका केही व्यक्ति बैठक छाडेर निस्किएपछि राम अवालेले आफू निकटका केही व्यक्ति बसेर विभिन्न निर्णय गरेका थिए । त्यो निर्णयमा नयाँ सदस्य थप गर्ने भन्ने थिएन । बैठकको एजेन्डामा यो विषय छँदा पनि थिएन । अहिले त्यही बैठकको निर्णय भन्दै सिन्धुपाल्चोकका मानबहादुर भण्डारीलाई नियुक्त गरिएको छ ।
खेलकुदको नयाँ ऐन अनुसार राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षकसमेत रहेका दीपक महर्जनले राजीनामा दिएपछि उनको स्थानमा भण्डारीलाई सदस्य नियुक्त गरेको हो । अझ रोचक कुरा त दीपक महर्जनले पनि साउन १६ गते नै संघबाट राजीनामा दिएका हुन् । उनी साउन १५ र १६ को बैठकमा सहभागी भई अन्तिममा मात्र राजीनामा दिएका थिए । अहिले त्यही मितिको बैठकको निर्णय भन्दै नयाँ सदस्य मनोनयन गरिएको छ ।
पदावधि सकिसकेको संघले नयाँ सदस्य थप्नु कानुनतः अवैध र गैरकानुनी भएको राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कानुन अधिकृत नारायणराज अर्यालले जानकारी दिए । ‘पदावधि सकिएको संघले काम चलाउ बाहेक अरु कुनै काम गर्न पाउँदैन’, उनले भने ती काम गरे कानुनतः अवैध मानिने छ ।’
सदस्य मनोनयनमा पनि राम अवालेले पहिले नै फटाइँ गरेका थिए । नेपाल बक्सिङ संघको विधान २०६४ अनुसार कार्यसमिति बढीमा २५ जनासम्मको हुने स्पष्ट पारिएको छ । त्यसमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव र एक कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य निर्वाचित हुने व्यवस्था छ । विधानको धारा ३ को उपधारा ४ अनुसार बाँकी तीन उपाध्यक्षको मनोनयन अध्यक्षबाट हुनेछ । यस्तै दुई सदस्य राष्ट्रिय खेलकुद परिषद् र बाँकी सदस्यको मनोनयन कार्यसमितिले गर्ने स्पष्ट लेखिएको छ । तर, राम अवालेले राष्ट्रिय खेलकुद परिषद्को कोटा नै नराखी जथाभावी रुपमा सुरुमै २५ सदस्यीय कार्यसमिति पु¥याएका थिए । जुन विधानतः अवैध र गैरकानुनी थियो । नेपालको प्रचलित कानुन अनुसार अवैध कार्यसमितिले गरेका जुनसुकै निर्णय पनि अवैध नै हुन्छ । त्यसैले राम अवालेले करिब साढे चार वर्षको अवधिमा जेजति निर्णय गरे ती सबै अवैध हुन्छ ।
बक्सिङ संघको कार्यसमितिलाई राष्ट्रिय खेलकुद परिषद्ले लामो समयसम्म मान्यता नै दिएको थिएन । परिषद्ले मान्यता नदिँदा संघमा प्रतिनिधित्व गर्ने दुई सदस्य पनि पठाएन । परिषद्ले दुई जना सदस्य नपठाएपछि राम अवालेले नै आफूखुसी निर्णय गरेर सदस्यको मनोनयन गरेका थिए । दीपक महर्जन र पुस्कर पन्तले राजीनामा दिएपछि संघको कार्यसमिति २३ सदस्यीय भएको थियो । संघको विधान अनुसार २३ सदस्य हुँदा परिषद्को दुई सदस्य मनोनयनका लागि खुला पनि भएको थियो । तर, २३ जनाको कार्यसमिति भएपछि राम अवालेको पक्षमा बहुमत नपुग्ने भयो । संघबाट राजीनामा दिएका महर्जन र पन्त राम अवाले निकटका थिए । त्यसैले उनले पहिले नै राजीनामा बुझाइसकेका पन्तलाई पुनः संघमा सक्रिय बनाए भने महर्जनको ठाउँमा भण्डारीलाई नियुक्त गरेर बहुमत पु¥याउने काम गरे । जुन काम सर्वथा गैरकानुनी र अवैध छ ।
यस्तो छ, श्याम अवालेले सुटुक्क निकालेको विज्ञप्ति
आदरणीय नेपाल बक्सिङ्ग संघ परिवार।
बिषय : जानकारी सम्बन्धमा
नेपाल बक्सिङ्ग संघको मिति २०७७र४र१६ गतेको बैठकको निर्णयअनुसार नेपाल बक्सिङ्ग संघको रिक्त रहेको सदस्य पदमा नेपाल बक्सिङ्ग संघको विधान २०६४ को परिच्छेद ६ को धारा २१ को उपधारा १(ग) बमोजिम यस कार्यसमितिको पदावधि समाप्त नहुन्जेल सम्मका लागि चौतारा,०३,। सिन्धुपाल्चोक निवासी सिन्धुपाल्चोक जिल्ला बक्सिङ्ग संघका अध्यक्ष, पुर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ्ग खेलाडी एवं समाजसेवी श्री मानबहादुर भण्डारीज्यूलाइ सदस्य पदमा मनोनयन गरिएको सहर्ष जानकारी गराउन चाहन्छौं। संघमा उहाको आगमनले बक्सिङ्ग विकासमा अझ धेरै टेवा पुग्ने विश्वास लिएका छौं ।
श्यामकाजि अवाले
प्रवक्ता
नेपाल बक्सिङ्ग संघ
यो पनि पढ्नुस्