बक्सिङ संघमा अर्को लफडा : बैठकमै महासचिवमाथि दुरव्यवहार

काठमाडौं : नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यमाथि बैठकमै दुव्र्यवहार भएको छ । संघको शुक्रबार बसेको पूर्ण कार्यसमिति बैठकमा संघका सदस्य एवं प्रशिक्षक दीपक महर्जनले दुरव्यवहार गरेको महासचिव भट्टाचार्यले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै सार्वजनिक गरेका छन् ।
बक्सिङ संघको पूर्ण कार्यसमिति बैठक लामो समयपछि बोलाइएको थियो । कोरोना भाइरसको महामारीको विषम् परिस्थितिमा कुनै पनि कार्यक्रम नगर्न जिल्ला संघहरुलाई निर्देशन दिएको संघले आफ्नै निर्देशनलाई लत्याउँदै साउन १५ गते बिहीबार पूर्ण कार्यसमिति बैठक बोलाएको थियो । धेरै लामो समयपछि र अहिलेको प्रतिकुल अवस्थामा बोलाइएको बैठकप्रति केही पदाधिकारीले असन्तुष्टि पनि जनाएका थिए । संघका केन्द्रीय सदस्य देवेन्द्र लिम्बूले काठमाडौं भित्रिन पीसीआर रिपोर्टदेखि विभिन्न पासको आवश्यकता पर्ने भएकाले बैठक बोलाउने उचित समय नभएको देखेसो गरेका थिए ।
विभिन्न प्रस्ताव उपर व्यापक छलफल गर्नुनुपर्ने भन्दै बैठक साउन १६ गते शुक्रबार पनि पूर्ण बोलाइएको थियो । बैठकमा सुरु हुनासाथ विभिन्न निर्णय बहुमतका आधारमा पारित भएको भन्दै त्यसलाई निर्णय पुस्तिका (माइन्युट) मा लेख्न अध्यक्ष राम अवालेले महासचिव भट्टाचार्यलाई भने । महासचिवले अध्यक्षको दबाब मानेनन् र माइन्युटमा आफ्नो असहमति पनि लेख्छु भन्नासाथ दीपक महर्जन कड्किएर महासचिवमाथि हातपातको प्रयास गरेका थिए । ‘प्रस्ताव गरिएका विषयहरुमा मिहिन ढंगले छलफल गर्नुपर्नेमा साथीहरुबाट छलफल नै नगरी बहुमतका आधारमा जवरजस्ती लाद्न खोजेपछि मैले तयार गर्दै गरेको माइन्युट बुकमा मेरो असहमति पनि समावेश गर्छु भन्दा दीपक महर्जन कड्किए र मलाई अभद्र व्यवहार गरे’, महासचिव भट्टाचार्यले विज्ञप्तिमा भनेका छन्, ‘ममाथि ज्यादती हुँदा अध्यक्ष राम अवाले पनि सँगै हुनुहुन्थ्यो । मैले आफूमाथि भएको अभद्र व्यवहारका बारेमा उहाँलाई भनें । तर, उहाँबाट केही प्रतिक्रिया आएन ।’ उनले फरक मत राख्न पाउने आफ्नो संवैधानिक अधिकार कुण्ठित गर्दै गरिएको दुव्र्यवहारप्रति घोर भत्र्सना पनि गरेका छन् ।
दीपक महर्जन नेपाल बक्सिङ संघका सदस्य भए पनि उनले माइन्युटमा हस्ताक्षर नगरेकाले उनी कुन हैसियतमा पूर्ण कार्यसमिति बैठकमा उपस्थित भएका हुन् भन्ने प्रश्न पनि महासचिव भट्टाचार्यले विज्ञप्तिमा भनेका छन् । ‘दीपक महर्जन राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षक हुन् । हालै लागु भएको नयाँ खेलकुद विकास ऐन अनुसार नेपाल बक्सिङ संघको कार्यसमिति वा सहायक प्रशिक्षकबाट राजीनामा दिनुपर्ने हुन्छ । अहिलेसम्म उनले दुवै पद छाडेका छैनन्’ भन्दै उनले आश्चर्य व्यक्त गरेका छन् ।
महासचिव भट्टाचार्यले विगत लामो समयदेखि नै संघमा आर्थिक अनियमितता हुँदै आएको र निर्वाचित कोषाध्यक्षबाट कोष परिचालन नगरी मनोमानी ढंगले विधानको मर्मविपरीत कोष सञ्चालन हुँदै आएको पनि उल्लेख गरेका छन् । ‘विगत लामो समयदेखि नेपाल बक्सिङ संघ एलौटी, स्वेच्छाचारी र तानाशाही ढंगबाट चल्दै आएको छ । नेपाल बक्सिङ संघका अध्यक्ष महाशयबाट कार्यसमितिको नेतृत्व गरेदेखि नै मेरो महासचिव पदको अवमूल्यंन गर्दै बैठकको सूचना पनि मलाई जानकारी नगराई आफ्नै नजिकका व्यक्तिहरु बसी माइन्युट पनि आफै लेख्ने कार्य गरेर मेरो जिम्मेवारी समेत बञ्चित गरिएको छ’, उनले भनेका छन् ।
अध्यक्ष राम अवालेको असक्षमता र परिवारवादका कारण नेपाल बक्सिङ संघ अराजकताको अखडा भएको विषयमा यस अनलाइनले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments