बक्सिङ संघको अनियमितता लुकाउन विज्ञप्तिको झटारो

काठमाडौं : नेपाल बक्सिङ संघमा भएको आर्थिक अपारदर्शिता, अनियमितता, संघको विधानविपरीतका गतिविधि र अध्यक्ष राम अवालेको असक्षमता एवं नालायकीपनका बारेमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि अवाले परिवार निकै अत्तालिन पुगेको बुझिएको छ ।
विभिन्न सञ्चार माध्यममा आएका समाचार सामाजिक सञ्जालमा सेयर गरेको भन्दै पूर्व बक्सिङ खेलाडी तथा बक्सिङप्रेमीलाई धम्की दिएको अवाले परिवारले आफ्ना केही हनुमानलाई सामाजिक सञ्जाल फेसबुकमार्फत बक्सिङको इतिहास पढाउन खोजेको थियो । संघको गलत हर्कत र विधानविपरीतका कामका बारेमा समाचार प्रकाशित गर्ने सञ्चारकर्मी र सञ्चार माध्यमलाई ‘पत्रुकार’को बिल्ला भिडाउने, संघको गलत कामकारवाहीप्रति असुन्तुष्टि जनाउनेलाई मानमर्दन गर्ने र राम अवालेको चार वर्षे कार्यकालको बढाइचढाइ गर्दै एक हनुमानलाई लामो स्टाटस लेख्न लगाएको थियो । विशेषगरी संघमा बहु पदधारी श्याम अवालेको ग्रान्ड डिजाइनमा लेख्न लगाएको स्टाटसले आफ्नै खिल्ली उडाउने र साइबर क्राइममा पनि पर्ने खतरा बढेपछि संघले विज्ञप्ति निकालर पानीमाथिको ओभानो बन्न खोजेको हो ।
सुरुमा सञ्चार माध्यम र सञ्चारकर्मीको नामै किटेर विज्ञप्ति निकालिएको थियो । त्यसबाट संघ उल्टै विवादमा फस्ने देखिएपछि फेरि अर्को विज्ञप्ति निकालिएको थियो । त्यो विज्ञप्ति पनि सबै खेलकुद पत्रकारलाई नपठाई श्याम अवालेले आफ्ना नजिकका केही पत्रकारलाई इमेलमा पठाएका थिए भने ४० भन्दा बढीलाई ट्याग गर्दै फेसबुकमा पोस्टाएका थिए । उनले फेसबुकमा राखेको विज्ञप्तिमा उल्टै ‘नेगेटिभ’ कमेन्ट्स आउन थालेपछि उनीहरु थप तनावमा परेको बुझिएको छ ।
वैधानिक निर्वाचनबाट निर्वाचित कोषाध्यक्षको अधिकार कटौती गर्दै कार्यबहाक कोषाध्यक्ष राखेर अध्यक्ष राम अवालेलगायतले आर्थिक अपचलन गरेको, चार वर्षको अवधिमा एउटा पनि साधारणसभा गर्न नसकेको, आफ्ना नजिकका व्यक्तिहरुलाई मात्रै काखी च्यापेको, पूर्ण कार्यसमितिको बैठक एक पटक पनि राख्न नसकेको, कुल २५ सदस्यीय कार्यसमितिमध्ये १३ जनाको स्टेरिङ कमिटी बनाएर जथाभावी निर्णय गरेको, बक्सिङलाई संधै विवादित बनाउँदै आएकोलगायतका आरोप संघकै पदाधिकारीले लगाउँदै आएका छन् । संघका जिम्मेवार पदाधिकारीबाटै पटक पटक गम्भीर आरोप लगाउँदा पनि त्यसलाई ढाकछोप गर्न अवाले परिवारले विभिन्न हत्कण्डा अपनाउँदै आएका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments