
अवालेलेलाई राखेपको एक हप्ते अल्टिमेटम
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई संघमा भएका सम्पूर्ण कामकारवाहीका बारेमा एक साताभित्र विवरण पठाउन अल्टिमेटम दिएको छ । राखेपको संघसंस्था समन्वय शाखा प्रमुख ज्ञानेन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा संघका सम्पूर्ण कामकारवाही र आर्थिक विवरण एक साताभित्र उपलब्ध गराउन भनिएको छ । साउन २५ गते आइतबार प्रेसित पत्रमा संघमा भएको आर्थिक अनियमितता र विधान विपरीतका कामकारवाहीका बारेमा स्पष्ट खुलाउन भनिएको छ ।
बक्सिङ संघ अराजकताको केन्द्र बनेको र अध्यक्ष राम अवालेले विधान विपरीत मनपरी रुपमा काम गर्दै आएको भन्दै कारवाहीको माग गर्दै संघका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले २०७७ असार १४ गते राष्ट्रिय खेलकुद परिषद्मा निवेदन दर्ता गराएका थिए ।
महासचिव भट्टाचार्य र कोषाध्यक्ष सुजखुले निर्वाचित कोषाध्यक्षलाई काम गर्नबाट बञ्चित गर्दै कार्यबहाक कोषाध्यक्ष नियुक्ति गरेर आर्थिक अनियमितता गरेको, चार वर्षको अवधिमा एउटा पनि साधारणसभा गर्न नसकेको, कार्यसमितिका सदस्यले पटक पटक साधारणसभाको माग गर्दा पनि बेवास्ता गरेको, लेखा परीक्षण नगर्नुका साथै राष्ट्रिय खेलकुद परिषद्बाट लिएका सहयोगको फछ्र्योट नगरेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायबाट प्राप्त आर्थिक सहयोगका बारेमा कसैलाई जानकारी नदिई आर्थिक अपचलन गरेको भन्दै कारवाहीको माग गरेका छन् ।