बक्सिङ संघको अर्को कर्तुत : झुटो विवरण भजाउने, पृष्ठपोषण गरिरहने

काठमाडौं : चौतर्फी रुपमा विवादमा फसेको नेपाल बक्सिङ संघ र विशेषगरी राम अवाले तथा श्याम अवालेले भजाउने गरेको एउटा विषय हो, ओलम्पिक छनोट खेलमा सनिल शाहीको प्रदर्शन । जोर्डनको अमानमा गत मार्च ३–११ तारिखसम्म भएको टोकियो ओलम्पिकका लागि एयिसन÷ओसिएनियन क्षेत्रको छनोट प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता सनिल शाही र मीनु गुरुङले प्रतिस्पर्धा गरेका थिए ।
पुरुष ६३ केजी तौल समूहमा सनिलले किर्गिस्तानका बक्सर काट्रेवक उल अर्जेनलाई ४–१ ले पराजित गरेका थिए । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेका सनिल दोस्रो खेलमा भने ताजकिस्तानका बक्सर उनमोनोभ बाखोदुरसँग पराजित भएका थिए । मीनु भने आफ्नो पहिलो खेलमै पराजित भएकी थिइन् । यो प्रतियोगिता यसअघि चीनको वुहानमा फेब्रुअरी ३–१४ तारिखसम्म सञ्चालन हुने तय भए पनि कोरोना भाइरसको महामारीका कारण जोर्डनमा सारिएको थियो ।
सनिल शाहीले ओलम्पिक छनोटमा गरेको प्रदर्शन र उनले पहिलो खेल जितेको विषयलाई नेपाल बक्सिङ संघ र राम अवाले कम्पनीले आफ्नो असक्षमता ढाक्न पछिल्लो समय भजाउँदै आएको छ । कहिले आफ्ना केही हनुमानलाई सामाजिक सञ्चालमा लेखाउने त कहिले विभिन्न सञ्चार माध्यममा आएका समाचारका विषयमा खण्डन गर्ने क्रममा राम अवाले कम्पनीले सनिल शाहीको प्रदर्शनलाई ढाल बनाउँदै आएका छन् । गत बुधबार केही सञ्चारर्मीलाई पठाएको चार पृष्ठ लामो विज्ञप्तिमा पनि श्याम अवालेले सनिल शाहीकै चर्चा गरेका छन् । अहिलेसम्म ओलम्पिक छनोट खेलमा कुनै पनि नेपाली खेलाडीले पहिलो खेल जित्न नसकेको अवस्थामा सनिलले एक खेल जित्दै ऐतिहासिक सफलता हासिल गरेको कुरा उनले भजाएका छन् । जुन सरासर गलत हो । यसो भनेर हामीले युवा मुक्केबाज सनिलप्रति अन्याय गर्न खोजेका होइनौं । तर, सत्य जे हो त्यो नेतृत्वमा बसेकाहरुले जान्नु र बुझ्नु पर्छ भनेको हो । कुनै पनि कुरा हचुवाका भरमा उठाउनु भएन भन्ने हो र अहिले बक्सिङ संघको नेतृत्वमा बसेकाहरुलाई सजग बनाउन खोजेको पनि हो ।
ओलम्पिक छनोटमा एक खेल (एक बाउट) जित्ने पहिलो नेपाली बक्सर रमेशदास श्रेष्ठ हुन् । सन् २००० को सिड्नी ओलम्पिकका लागि ‘थर्ड एसियन क्वालिफाइङ बक्सिङ टुर्नामेन्ट’मा रमेशदास श्रेष्ठले एक खेल जित्ने पहिलो सफलता हासिल गरेका थिए । सन् २००० अप्रिल १–७ सम्म थाइल्यान्डको बैंककमा आयोजना भएको प्रतियोगितामा रमेशदास श्रेष्ठले कम्बोडियाका खेलाडीलाई पराजित गरेका थिए । पहिलो चरणको खेलमा कम्बोडियाका खेलाडीलाई पराजित गरेका उनी दोस्रो चरणको खेलमा भने चाइनिज ताइपेइका खेलाडीसँग पराजित भएका थिए ।
उनले नेपालमालासँग कुरा गर्दै ओलम्पिक क्वालिफाइङ प्रतिस्पर्धामा पहिलो खेल जित्ने आफू पहिलो नेपाली बक्सर भएको बताए । ‘ओलम्पिक छनोट खेलमा एक खेल जित्ने पहिलो खेलाडी म हुँ’, रमेशदासले भने, ‘संघले पहिलेदेखि रेकर्ड नै राखेको छैन । आफूले रेकर्ड नराख्ने अनि अहिले आएर इतिहास मेट्ने काम गरिरहेको छ । जुन सर्वधा गलत हो ।’
उनले प्रतियोगितामा सहभागी हुनुअघि निकै राम्रो तयारी गरेको र त्यही मेहनतकै कारण पहिलो खेल जित्न सफल भएको बताए । ‘प्रतियोगिताका लागि धेरै नै मेहनत गरेको थिएँ । छनोट खेलेरै ओलम्पिकमा सहभागी हुन्छु भन्ने आत्मविश्वास पनि थियो’, उनले भने, ‘पहिलो खेल सजिलै जितेको पनि थिएँ । तर, दोस्रो खेलमा पनि राम्रो खेल्दाखेल्दै पराजित हुन पुगें ।’ उनले ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

त्यसबेला नेपाली टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका विजय डंगोलले पनि थर्ड एसियन क्वालिफाइङ बक्सिङ टुर्नामेन्टमा रमेशदास श्रेष्ठले एक खेल जितेको पुष्टि गरे । हाल अमेरिकामा रहेका वरिष्ठ बक्सिङ प्रशिक्षक डंगोलले रमेशदासले पहिलो खेल जितेको बताए ।
रमेशदास आठौं दक्षिण एसियाली खेलकुद (साफ)का रजत पदक विजेता खेलाडी पनि हुन् । उनले सन् १९९८ को बैंकक र सन् २००२ को बुसान एसियाली खेलकुदमा समेत सहभागिता जनाएका थिए ।
सनिलले नेपाली खेलकुद विशेषगरी बक्सिङको इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेख्न सफल भइसकेका छन् । विभिन्न परिस्थितिका बाजबुद १३औं सागको बन्द प्रशिक्षणमा सहभागी भएर उनले राष्ट्रलाई ऐतिहासिक सफलता दिलाएका थिए । तर, संघले एउटा कीर्तिमानी खेलाडीलाई ढाल बनाएर आफ्नो बचाउ गर्नु कहाँसम्मको न्यायसँगत हो ? चार वर्षको अवघिमा नेपाल बक्सिङ संघ र राम अवालेले के–के काम ग¥यो भन्ने घाम जक्तिकै छर्लङ्ग छ । चार वर्षको अवघिमा विधानले बाध्यात्मक गरेको साधारणसभासम्म गर्न नसकेको संघले नेपाली बक्सिङका लागि के–कति काम ग¥यो, त्यो आम बक्सिङप्रेमीले राम्रैसँग मूल्यांकन गरेकै छन् । चार वर्षको अवघिमा संघमा विवाद बढाउने र विधानलाई तिलाञ्जलि दिने बाहेकको अरु कुनै काम राम अवाले नेतृत्व बक्सिङ संघले गरेको छ ? न एउटा राष्ट्रिय प्रतियोगिता गर्न सक्यो न त खेलाडी उत्पादनका अरु काम नै गर्न सक्यो ।
बक्सिङको विकासमा एउटा सिन्कोसम्म भाँच्न नसकेको राम अवालेले १३औं सागको सफलता, सनिल शाहीको प्रदर्शन बाहेक देखाउने पनि अरु के छ र !
वि.सं. २०३३ सालमा संघ दर्ता भएको दाबी गर्ने राम अवाले कम्पनीले कहिलेसम्म कति जना अध्यक्ष भए भन्नेसम्म पनि थाहा नहुनु र ओलम्पिक छनोटमा अहिलेसम्म को–को सहभागी भए र क–कसले सफलता हासिल गरे भनेर थाहा नपाउनु लाजमर्दो कुरा हो । ‘हामीले यो यो काम ग¥यौं’ भनेर मिडियाबाजी गर्नुअघि संघको नेतृत्व क–कसले गरे, उनीहरुको पालामा के–के काम भयो र कुन खेलाडीले कस्तो–कस्तो सफलता हासिल गरे भनेर नेपाली बक्सिङको इतिहास खोतल्नु हुन्थ्यो नि !

यो पनि पढ्नुस्

अन्तर्राष्ट्रिय फोरममा राम अवालेले लिएको राष्ट्रको हुर्मत

कोरोना बीमामा राम अवालेको राजनीति : पहिल्यै भइसकेका व्यक्तिको पनि फेरि बीमा

राम अवालेको अर्को बद्मासी : ओलम्पिक कमिटीको वेबसाइडमै बक्सिङका कोषाध्यक्ष वेपत्ता

कार्यकाल सकिएको बक्सिङ संघमा पुस्कर पन्तको मरिहत्ते किन ?

बक्सिङ संघमा पुस्कर पन्तको शंकास्पद् भूमिका : पहिले राजीनामा अहिले सक्रिय

अवालेलेलाई राखेपको एक हप्ते अल्टिमेटम

बक्सिङ संघको निर्णय बदरको माग गर्दै परिषद्मा उजुरी

बक्सिङ संघमा अर्को लफडा : बैठकमै महासचिवमाथि दुरव्यवहार

बक्सिङ संघको नौटंकी : आफै बोक्सी आफै धामी !

बक्सिङ संघमा बेथिति : अध्यक्ष अवालेको अकर्मन्यताले विधानको धज्जी

बक्सिङ संघमा विवादै विवाद : अध्यक्ष अवालेले आर्थिक अनियमतता गरेको आरोप

बक्सिङ संघमा परिवारवाद : भाइलाई पदैपदको लाभ

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments