कार्यकाल सकिएको बक्सिङ संघमा पुस्कर पन्तको मरिहत्ते किन ?

काठमाडौं : नेपाल बक्सिङ संघको चार वर्षे कार्यकाल गत जेठ २१ मै सकिएको छ । २०७३ साल जेठ २२ मा निर्वाचित राम अवाले नेतृत्वको कार्यसमितिको कार्यकाल गत जेठमा सकिएको हो । कोरोना भाइरसको महामारीका कारण सिंगो मुलुक सन्त्रासमा रहेका कारण निर्धारित समयमा निर्वाचन हुन नसक्दा नेपाल बक्सिङ संघ अहिले तदर्थतामा चलिरहेको छ । तर, कार्यकाल सकिसकेको संघप्रति केही व्यक्तिले भने मरिहत्ते गरिरहेका छन् ।
कार्यकाल सकिसकेको बक्सिङ संघप्रति मरिहत्ते गर्ने व्यक्तिमध्येका एक हुन्, पुस्कर पन्त । संघमा केन्द्रीय सदस्यका रुपमा रहेका उनी चार वर्षसम्म अध्यक्ष राम अवालेको चाकडी र चाप्लुसीमा लिप्त बनेका थिए । चार वर्ष संघमा बस्दा राम्रै चास्नी चाट्न पाएका उनले कार्यकाल सकिसकेको संघप्रति पनि मरिहत्ते गरिरहेका छन् । संघमा बसेर सबैभन्दा बढी फाइदा लिने व्यक्तिमा गनिने पन्तले संघमा हालीमुहाली गर्न पाउने आशमा वान स्टार आरजे नै त्यागेका छन् ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) अघि नेपाल बक्सिङ संघले आईबा वान स्टार आरजे कोर्स सञ्चालन गरेको थियो । आरजे कोर्सका लागि संघको निर्वाचित तथा मनोनित पदाधिकारी, प्रशिक्षक र सरकारी सेवामा कार्यरत व्यक्तिहरु अयोग्य हुने अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) ले स्पष्ट पारेको थियो । आईबाको प्रावधान बमोजिम वान स्टार आरजे कोर्समा सहभागी हुन २३ जनाले आवेदन दिएका थिए । वान स्टार आरजे कोर्समा सहभागी हुन पुस्कर पन्तले संघको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । राजीनामा पेस गरेपछि मात्र उनी आरजे कोर्समा सहभागी भएका थिए ।


पन्तले केन्द्रीय सदस्यबाट राजीनामा दिए पनि संघमा सक्रिय भइरहे । वान स्टार आरजे बनेपछि पनि संघमा सक्रिय भएको भन्दै आईबामा उजुरी परेको थियो । त्यस विषयमा आईबाले पत्र लेखेपछि पन्तले वान स्टार आरजे त्याग्दै संघको राजनीतिमै सक्रिय बन्ने निर्णय गरे ।
नेपाल बक्सिङ संघको चार वर्षे कार्यकाल सकिसकेको छ । यस्तोमा संघले चाँडै नै नयाँ नेतृत्व पनि पाउने छ । तर, संघको नेतृत्वमा फेरि पनि राम अवाले आउने र पुस्कर पन्त पनि निर्वाचित हुन्छन् भन्ने ज्ञारेन्टी छैन । पुस्कर पन्त कार्यसमितिको कुनै पदमा निर्वाचित भए पनि नेतृत्वमा उनी अनुकुलका व्यक्ति नै आउँछन् भन्ने छैन । यस्तोमा उनको भविष्य आरजेमा थियो ।

उनले लामो समयदेखि रेफ्री जर्ज पनि गर्दै आएका थिए । रेफ्रीजर्जमा भविष्य हुँदाहुँदै त्यसलाई त्यागेर कार्यकाल सकिसकेको संघप्रति उनले मरिहत्ते गर्नुलाई रहष्यका रुपमा हेरिएको छ । अझ महत्वपूर्ण कुरा त पहिले नै संघको केन्द्रीय सदस्य त्यागिसकेका उनी कुन हैसियत र कुन मुख लिएर संघको राजनीति गर्छु भनिरहेका छन् ? मानिसको सबैभन्दा ठूलो गुण भनेको नैतिकता हो । केन्द्रीय सदस्यबाट राजीनामा दिइसकेका उनलाई संघको राजनीतिमा सक्रिय बनाउने अध्यक्ष राम अवालेले त नैतिकता गुमाइसकेका छन् । आफूलाई योगी कहलाउने पुस्कर पन्तले पनि राम अवालेकै चास्नीमा आफ्नो नैतिकता बेचिसकेको हो ? यो प्रश्नको जवाफ संघमा राजनीति गर्छु भन्ने पुस्कर पन्तले आम बक्सिङप्रेमीलाई कसरी दिन्छन्, त्यो हेर्न बाँकी छ ।
अर्को कुरा, रेफ्री जर्ज हुन मन थिएन भने उनी किन आरजे कोर्समा सहभागी भए ? भन्ने प्रश्न पनि जोडतोडले उठेको छ । उनलाई मन थिएन भने त्यस ठाउँमा अर्को व्यक्तिले अवसर पाउँथे । पहिले मरिहत्ते गर्ने अनि पाएपछि त्याग्ने प्रवृत्ति कदापि उचित होइन भन्ने ठम्याई आम बक्सिङप्रेमीको छ ।
वान स्टार आरजे कोर्स सञ्चालनका लागि नेपाल बक्सिङ संघलाई राष्ट्रिय खेलकुद परिषद्ले पनि आर्थिक सहयोग गरेको थियो । सरकारको लगानीबाट अन्तर्राष्ट्रिय रेफ्री जर्ज भइसकेका पुस्कर पन्तले अहिले किन त्यसलाई त्यागे भन्ने थप रहष्यमय छ । राज्यको ढुकुटी रित्याएर रेफ्रीजर्ज हुने अनि कसैको स्वार्थका लागि काम गरेर राज्यमाथि गद्दारी गर्ने काम पुस्कर पन्तले गरेका छन् । त्यसैले उनलाई राष्ट्रिय खेलकुद परिषद्ले त कडाभन्दा कडा कारवाही गर्नु पर्छ नै राम अवाले कम्पनीले साँच्चिकै बिधिबिधान मान्ने हो भने पुस्करलाई कारवाही गर्न सक्नुपर्छ । नेपाली बक्सिङ इतिहासमै पहिलो पटक भएको आरजे कोर्समा पुस्करका कारण अर्को सक्षम व्यक्ति अवसरबाट बञ्चित बनेका छन् । त्यसको भर्पाइ पुस्कर पन्तलाई हदैसम्मको कारवाहीबाट मात्र हुनसक्छ । यो कुरा राम अवाले कम्पनीले बुझ्नु जरुरी छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments