काठमाडौं : कोरोना भाइरसको महामारीका कारण अहिले सिंगो विश्व आक्रान्त बनेको छ । यसको चपेटामा नेपाल पनि नराम्रोसँग फसेको छ । कोरोना भाइरसको हट स्पट काठमाडौं उपत्यका बनेपछि विगत दुई सातादेखि निषेधाज्ञा लगाइँदै आएको छ ।
सिंगो मुलुक र काठमाडौं उपत्यका कोरोना भाइरसले आक्रान्त बनिरहँदा नेपाल बक्सिङ संघमा भने अचम्मको राजनीति भइरहेको छ । बक्सिङ संघको नेतृत्व राम अवालेले गरेको चार वर्ष बितिसकेको छ । यस अवघिमा वर्षेनी गर्नुपर्ने बार्षिक साधारणसभादेखि बक्सिङका कुनै पनि प्रतियोगिता आयोजना गर्न नसकेका राम अवालेले बेला बेलामा गर्ने हर्कतले भने सिंगो बक्सिङको हुर्मत मात्र लिएको छैन, उनी आफै पनि जोकर सावित हुँदै आएका छन् ।
यस्तै जोकर हुने काम गरेका छन्, प्रशिक्षक तथा रेफ्री जर्जको कोरोना बीमाका सवालमा । संघमा आफ्नो प्रभुत्व जमाउन र आसन्न निर्वाचनमा भोटको राजनीतिमै लिप्त अवालेले न खेलाडी न त प्रशिक्षक र रेफ्री जर्जककै विषयमा ध्यान पु¥याउन सके । कोरोना भाइरसको महामारीमा खेलाडीको अवस्था कस्तो छ ?, प्रशिक्षकहरु के गरी बसेका छन् भन्ने विषयमा सोधीखोजी गर्ने होइन, सोच्नसम्म पनि सोचेनन् । आगामी चुनावमा समीकरण मिलाउन र भोटको राजनीति गर्नमै उनले लकडाउनको सदुपयोग गरे ।
कोरोना भाइरसको महामारीबाट खेलाडीहरु निकै प्रभावित भएपछि पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले केही खेलाडीको कोरोना बीमा गरिदिए । खेलाडीको कोरोना बीमा गर्नुपर्छ भन्ने सोच्नसम्म नसकेका अवालेका लागि यो राजनीति गर्ने गतिलो हतियार बन्यो । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना बीमा पूर्व बक्सर श्रेष्ठले गरिदिइसकेका थिए । उनी अरु प्रशिक्षकसँगै रेफ्री जर्जको पनि बीमा गराउने अभियानमा लागे । देशका विभिन्न स्थानमा रहेका रेफ्री जर्जको नागरिकताको प्रतिलिपी संकलन गर्न नै केही समय लाग्दा अलि ढिला हुन पुग्यो । त्यही कारण उनले बिहीबार ३८ रेफ्री जर्जको कोरोना बीमाको पोलिसी हस्तान्तरण गरे ।

संघका केन्द्रीय सदस्य एक्लै खेलाडी, प्रशिक्षक र रेफ्री जर्जको कोरोना बीमा गराउन लागिपरिरहँदा राम अवाले भने चन्दा संकलन गर्ने अभियानमा लागेको थियो । उनले फेसबुक म्यासेन्जरमा एक सूचना लेख्दै बीमाका लागि सहयोग गर्न आह्वान गरेका थिए । बक्सिङका लागि करोडौं रुपैयाँ खर्चिएको गुटी हाँक्ने अवालेले प्रतिव्यक्ति ६ सय ( स्थानीय वडाको सिफारिस भएमा तीन सय) रुपैयाँका लागि सहयोगको आह्वान गरेर आफ्नो बचेखुचेको हुर्मत मात्र फालेनन्, नेपाली बक्सिङको पनि बेइजती गरेका थिए ।
ओमनारायण श्रेष्ठले रेफ्री जर्जको बीमा गराउन लागेको सुइँको पाएपछि उनले पनि बिहीबार रेफ्री जर्जको कोरोना बीमा गरेको भन्दै पोलिसी हस्तान्तरण गरे । तर, उनले गरिदिएका अधिकांश रेफ्री जर्जको बीमा भने खेर जाने भएको छ । उनले गरेको बीमा पोलिसी अनुसार भदौ १५ गतेदेखि लागु हुने भनिएको छ । तर, ओमनारायणले गरिदिएको बीमा भने भदौ १२ गतेदेखि नै लागु भएको छ । कोरोना बीमाको नयाँ नीति अनुसार बीमा एक ठाउँमा मात्र गर्न पाइन्छ । एकभन्दा बढी कम्पनीबाट गरिएको बीमा स्वतः रद्द हुन्छ । त्यसैले राम अवालेले गरिदिएको २० रेफ्री जर्जको कोरोना बीमा रद्द मात्र भएको छैन, उनले फेसबुक म्यासेन्जरबाट हारगुहार गरेर मागेको पैसा पनि खेर गएको छ ।

संघले पहिलो प्राथमिकता दिनुपर्ने भनेको खेलाडीलाई हो । यस अर्थमा पहिलो बीमा पनि खेलाडीको हुनुपथ्र्यो । ओमनारायणले त १३औं सागमा सहभागी १६ खेलाडीको मात्र बीमा गरिदिएका थिए । अरु महत्वपूर्ण खेलाडी यसबाट छुटेका थिए । संघले छुटेका खेलाडीलाई प्राथमिकतामा राखेर बीमा गरिदिएको भए राम्रै मानिन्थ्यो पनि । तर, भोटको राजनीतिमा लागेका राम अवालेलाई खेलाडीको के मतलब । खेलाडीले चुनावमा भोट हाल्ने होइनन् । त्यसैले उनले खेलाडीका विषयमा सोच्दै सोचेनन् र प्रशिक्षक तथा रेफ्री जर्जको पछि लागे । जुन निरर्थक काम मात्र होइन, मिथ्या पनि सावित भयो । यसले राम अवालेको छवि मात्र बिगारेन उनको काम गर्ने शैलीको पनि सर्वत्र विरोध भयो ।
यो पनि पढ्नुस्

नेपालमाला
