राम अवालेको अर्को बद्मासी : ओलम्पिक कमिटीको वेबसाइडमै बक्सिङका कोषाध्यक्ष वेपत्ता

काठमाडौं : पछिल्लो समय नेपाल बक्सिङ संघ विवादको भुमरीमा परेको छ । अध्यक्ष राम अवालेको नातावाद, कृपावाद र असक्षमताका कारण बक्सिङ संघ विवादको भुमरीमा परेको हो ।
चार वर्षे कार्यकाल चाकडी, चाप्लुसी र आफ्ना नजिकका व्यक्तिको सेटिङमै गुजारेका अवालेका कारण राष्ट्रिय गौरवका रुपमा रहेको बक्सिङ खेल पछिल्लो समय अधोगतितर्फ लागेको छ ।
नेपाल बक्सिङ संघको विवाद संघभित्र मात्र सीमित छैन । अध्यक्ष राम अवालेको कुकृत्यहरु बक्सिङको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा), एसियन बक्सिङ कन्फेडेरेस (एएसबीसी) देखि युवा तथा खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय खेलकुद परिषद्लगायतका संस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय निकायले अध्यक्ष अवालेको गलत क्रियाकलाप र हर्कतमा लगाम लगाएका छन् । तर, स्वदेशका निमायक निकायले आँखा चिम्लिँदा उनको मनोबल घट्नुको साटो झन्झन् बढिरहेको छ ।
राम अवाले नेपाल बक्सिङ संघका अध्यक्षका साथै नेपाल ओलम्पिक कमिटीका सदस्य हुन् । एक वर्षअघि भएको ओलम्पिक कमिटी निर्वाचनमा २० भोट ल्याउँदै उनी सदस्यमा निर्वाचित भएका थिए । सदस्यमा निर्वाचित भएपछि राम अवालेले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायत अन्य पदाधिकारीलाई समेत प्रभावमा पार्ने गरेको ओलम्पिक कमिटीको वेबसाइड हेरेपछि प्रष्ट हुन्छ । ओलम्पिक कमिटीको वेबसाइडमा उससँग आवद्ध विभिन्न संघ र ती संघका पदाधिकारीका विवरण समावेश गरिएको छ । नेपाल ओलम्पिक कमिटीमा आवद्ध २७ संघमध्ये बक्सिङ संघका बारेमा पनि उल्लेख गरिएको छ ।
बक्सिङ संघका अध्यक्ष राम अवाले र महासचिव सविन भट्टाचार्यको तस्बिरसहित राखिएको छ भने अन्य पदाधिकारी र सदस्यहरुको पद र नाम उल्लेख गरिएको छ । तर, राम अवालेको प्रभावमा परेर ओलम्पिक कमिटीले आफ्नो वेबसाइडमा नेपाल बक्सिङ संघका निर्वाचित कोषाध्यक्ष गौतम सुजखुको नाम हटाउने मात्र होइन, उनको स्थानमा अर्कैलाई कोषाध्यक्ष बनाइएको छ ।
दुई वर्षअघि राम अवालेले निर्वाचित कोषाध्यक्ष गौतम सुजखुलाई हटाएर उनको स्थानमा सदस्य रामबहादुर गिरीलाई कार्यबहाक कोषाध्यक्ष बनाएको थियो । कार्यबहाक कोषाध्यक्ष बनाएपछि सातदोबाटोमा रहेको सानिमा विकास बैंकमा छुट्टै बैंक खाता पनि सञ्चालन गरिएको थियो । यस हिसावले सुजखुको ठाउँमा कोषाध्यक्ष राम गिरी हुनुपर्ने हो । तर, राम अवालेले यतिसम्म बद्मासी गरे कि ओलम्पिक कमिटीको वेबसाइडमा संघका केन्द्रीय सदस्य प्रनिर अधिकारीलाई कोषाध्यक्ष बनाइएको छ । अझ रोचक त २५ सदस्यीय केन्द्रीय कार्यसमितिमा सुजखुको नाम कहिँ कतै उल्लेख नगरी २४ सदस्यीय मात्र बनाइएको छ ।
नेपाल ओलम्पिक कमिटीको वेबसाइटबाट बक्सिङ संघका निर्वाचित कोषाध्यक्ष हटाइनुलाई रहष्यका रुपमा हेरिएको छ । निर्वाचित कोषाध्यक्षलाई हटाएर उनको स्थानमा अर्कै व्यक्तिलाई कोषाध्यक्ष बनाउनु र २५ सदस्यीय केन्द्रीय कमिटीलाई २४ सदस्यीय मात्र बनाइनुलाई प्राविधिक त्रुटीका रुपमा मात्र हेर्न नसक्ने नेपाल बक्सिङ संघका एक केन्द्रीय सदस्यले बताए ।

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments