काठमाडौं : नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य तथा वान स्टार रेफ्री जर्ज (आरजे) पुस्कर पन्तका विषयमा विश्व बक्सिङको सर्वोच्च निकाय आईबा (इन्टरनेसनल बक्सिङ एसोसिएसन) ले गत अगष्ट १९ मा पत्र लेख्दै संघका अध्यक्ष राम अवालेलाई ध्यानाकर्षण गराएको थियो । उक्त पत्रमा संघका पदाधिकारी आरजे हुन नपाउने प्रावधान हुँदाहुँदै पनि पुस्कर पन्तले दोहोरो भूमिका निर्वाह गरेको भन्दै ध्यानाकर्षण गराएको थियो । सोही पत्रमा पन्तले सर्टिफाइड आरजे त्यागेर संघको पदाधिकारी रहने निर्णय गरेकाले उनी आरजे नरहेको जानकारी पनि गराएको थियो ।

आईबाको पत्रपछि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले पहिले राजीनामा दिइसकेका पन्तलाई पुनः संघको केन्द्रीय सदस्यमा फिर्ता गराएका थिए । पुस्कर पन्त फर्किँदा संघको चार वर्षे कार्यकाल समाप्त भइसकेको थियो । चार वर्षे कार्यकाल समाप्त भइसकेको संघमा पन्तलाई पुनः सदस्यमा नियुक्त गरेपछि नेपाल बक्सिङ संघमा तीव्र विवाद भएको थियो । संघमा बसेर सबैभन्दा बढी फाइदा लिने व्यक्तिमा गनिने पन्तले संघमा हालीमुहाली गर्न पाउने आशमा वान स्टार आरजे त्यागेर संघमा फर्किएको भन्दै उनको आलोचना पनि भएको थियो ।
यस विषयको समाचार हेर्नुस कार्यकाल सकिएको बक्सिङ संघमा पुस्कर पन्तको मरिहत्ते किन ?
आरजे त्यागेर संघको पदाधिकारी बनेका उनै पुस्कर पन्त फेरि आरजेमा सक्रिय भएका छन् । नेपाल बक्सिङ संघले भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको एसबीसी एलाइट मेन्स एन्ड वुमन्स बक्सिङ च्याम्पियनसिपका लागि गत चैत २९ देखि ३१ गतेसम्म खेलाडी छनोट गरेको थियो । उक्त छनोट प्रतियोगितामा पुस्कर पन्तले पनि आरजेको भूमिका निर्वाह गरेका थिए । वान स्टार रेफ्रीजर्ज त्यागेर संघको पदाधिकारी बनेका पन्तलाई फेरि आरजेको भूमिकामा किन ल्याइयो भन्ने विषय भने शंकास्पद् देखिएको छ । उनलाई अध्यक्ष राम अवालेको विशेष निर्देशनमा छनोट प्रतियोगितामा आरजेको भूमिका दिइएको नेपाल बक्सिङ संंघ स्रोतको दाबी छ ।

नेपाली बक्सिङका टेक्निकल कोर्डिनेटर दीपक महर्जनले पन्तले पहिले भएका खेलमा राम्रो निर्णय गरेका कारण छनोट प्रतियोगिता निष्पक्ष होस् भन्नका लागि आरजेमा राखिएको बताए । ‘उनले पहिले भएका प्रतियोगितामा निष्पक्ष निर्णय दिँदै आएका थिए । छनोट प्रतियोगिता पनि निष्पक्ष होस् भनेर आरजेमा राखिएको हो’, महर्जनले भने ।
नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य एवं प्रवक्ता श्याम अवालेले आन्तरिक प्रतियोगिता भएका कारण पन्तलाई आरजेमा राखिएको बताए । ‘पुस्कर पन्तसँग आरजेको लाइसेन्स त छैन । तर, पहिलेदेखि नै खेल खेलाउँदै आएको र आन्तरिक प्रतियोगिता पनि भएकाले उनलाई आरजेमा राखिएको हो’, प्रवक्ता अवालेले भने ।

पुस्कर पन्तले भने आईबा वान स्टार आरजे त्यागे पनि आफू राष्ट्रिय स्तरको आरजे अहिले पनि रहेकाले नेपाल बक्सिङ संघ र टेक्निकल कमिटीले दिएको जिम्मेवारीलाई निभाएको बताए । ‘मैले आईबा वान स्टार आरजे मात्रै त्यागेको हुँ । म अहिले पनि राष्ट्रिय स्तरको आरजे नै हुँ’, उनले भने, ‘त्यही कारण नेपाल बक्सिङ संघ र टेक्निकल कमिटीले दिएको जिम्मेवारी निर्वाह गरेको हुँ ।’
१३औं दक्षिण एसियाली खेलकुद (साग) अघि नेपाल बक्सिङ संघले आईबा वान स्टार आरजे कोर्स सञ्चालन गरेको थियो । आरजे कोर्सका लागि संघको निर्वाचित तथा मनोनित पदाधिकारी, प्रशिक्षक र सरकारी सेवामा कार्यरत व्यक्तिहरु अयोग्य हुने अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) ले स्पष्ट पारेको थियो । आईबाको प्रावधान बमोजिम वान स्टार आरजे कोर्समा सहभागी हुन २३ जनाले आवेदन दिएका थिए । वान स्टार आरजे कोर्समा सहभागी हुन पुस्कर पन्तले पनि संघको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । राजीनामा पेस गरेपछि मात्र उनी आरजे कोर्समा सहभागी भएका थिए ।
तर, पन्त केन्द्रीय सदस्यबाट राजीनामा दिए पनि संघमा सक्रिय भइरहे । वान स्टार आरजे बनेपछि पनि संघमा सक्रिय भएको भन्दै आईबामा उजुरी परेको थियो । त्यस विषयमा आईबाले पत्र लेखेपछि पन्तले वान स्टार आरजे त्याग्दै संघको राजनीतिमै सक्रिय बन्ने निर्णय गरेका थिए । उनले लामो समयदेखि रेफ्री जर्ज पनि गर्दै आएका थिए । रेफ्रीजर्जमा भविष्य हुँदाहुँदै त्यसलाई त्यागेर कार्यकाल सकिसकेको संघप्रति उनले मरिहत्ते गर्नुलाई भने रहष्यका रुपमा हेरिएको छ ।
वरिष्ठ रेफ्रीजर्जलाई बाइपास
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र उनकै कृपादृष्टिमा बनेको टेक्निकल कमिटीले वरिष्ठ एवं उत्कृष्ट रेफ्रीजर्जलाई भने संधै बाइपास गर्दै आएको छ । राम अवालेले संघको नेतृत्व लिएपछि वरिष्ठ रेफ्रीजर्जलाई पाखा लगाउने काम सुरु भएको हो ।
प्रचण्ड शर्मा, अनुप लामा, दलबहादुर रानामगर, इन्द्रबहादुर श्रेष्ठ, दिनकलाल श्रेष्ठ, जीवन कवे, राजन प्रजापति, शेरबहादुर साउद, उमेश लामालगायतका वरिष्ठ एवं उत्कृष्ट रेफ्रीजर्जलाई संघ र टेक्निकल कमिटीले बाइपास गर्दै आएको छ ।
पाँच वर्षअघि नयाँ नेतृत्व आएपछि आफूलाई संघले हरेक प्रतियोगितामा सहभागी नगराएर पाखा लगाउँदै आएको एक वरिष्ठ रेफ्रीजर्जले बताए । ‘यसअघि सबैलाई समान रुपमा अवसर दिँदै आएको थियो । पाँच वर्षदेखि नेपाल बक्सिङ संघमा नयाँ नेतृत्व आएदेखि हामीलाई बाइपास गर्ने काम भएको छ’, ती वरिष्ठ रेफ्रीजर्जले भने ।
नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले हरेक प्रतियोगितामा बोलाए पनि उहाँहरु आफै नआएको बताए । ‘संघले गरेका हरेक प्रतियोगिताहरुमा उहाँहरुलाई बोलाउने गरेका छौं । उहाँहरु आफै नै आउनु हुन्न’, उनले भने, ‘हामीले कसैलाइृ पनि बाइपास गरेका छैनौं ।’
यो पनि पढ्नुस्
बक्सिङ संघमा पुस्कर पन्तको शंकास्पद् भूमिका : पहिले राजीनामा अहिले सक्रिय

नेपालमाला
