काठमाडौं : नागार्जुन नगरपालिकाको स्युचाटारमा वीर गणेशमान सिंह बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता आयोजनाको घोषणा भएदेखि नै नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र उनी मार्काका केही व्यक्तिहरुको दौडधूप सुरु भयो । नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजना र नागार्जुन नगरपालिकाको विशेष सहयोगमा प्रतियोगिता हुने जानकारी गत माघ २ गते पत्रकार सम्मेलनमार्फत आयोजकले घोषणा गरेपछि अध्यक्ष अवालेलगायत उनी मार्काका व्यक्तिको सक्रियता एकाएक निकै बढ्यो । प्रतियोगितामा संघको विशेष सहयोग रहने भन्दै ब्यानरमा ‘नेपाल बक्सिङ संघको तत्वावधान’ उल्लेख गरिनु पर्ने माग लिएर नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतलाई पटक पटक भेट्यो । नगर प्रमुख बस्नेतसँगको भेटमा संघलाई नसमेटे खेलाडी रोक्नेदेखि टेक्निकल टिमलाई सहभागी नै नगराउनेसम्मको धम्की पनि दियो । ३÷४ पटकको डेलिगेसनपछि ब्यानरमा तत्वावधान लेख्ने विषयमा सहमति नभए पनि प्रतियोगितालाई संघले विशेष सहयोग गर्ने भन्दै नगरप्रमुख बस्नेतलाई आश्वस्त बनायो ।
चिल्ला कुरा गर्न खप्पिस राम अवालेले प्रतियोगिता आयोजनाको स्वीकृति र अन्य सहयोगको व्यहोरासहितको पत्र नगर प्रमुख बस्नेतलाई बुझायो । प्रतियोगिता आयोजनाको स्वीकृतिका साथै रिङलगायतका सामग्री सहयोग गर्ने प्रतिवद्धतासहित स्वीकृति दिएको पत्रमा उल्लेख गरिएको छ ।
तर, राम अवाले मार्काको नाटक र नौटंकी यसरी छताछुल्ल भयो कि ‘… लाई भन्दा देख्नेलाई लाज’ भनेजस्तै भयो । वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको आयोजक नागाुर्जन बक्सिङ खेलकुद समिति हो । यो समितिलाई प्रतियोगिता आयोजनाका निम्ति नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले यसअघि नै स्वीकृति दिएका थिए । उनले पत्रमा समितिको आग्रह बमोजिम माघ १ गते नै प्रतियोगितालाई स्वीकृति प्रदान गरेका थिए । यसरी एउटै प्रतियोगितामा संघका अध्यक्ष र महासचिवले स्वीकृति दिएर बक्सिङ संघले नेपाली खेलकुदमै दुर्लभ इतिहास पनि बनायो ।

एउटै प्रतियोगितामा संघका अध्यक्ष र महासचिवले छुट्टाछुट्टै स्वीकृति दिनुको कारण भने अझ रोचक छ । स्वीकृति प्रतियोगिताको आयोजकलाई दिने हो कि प्रायोजकलाई ? वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको आयोजक नागार्जुन बक्सिङ खेलकुद समिति हो । समितिलाई नै सम्बोधन गरेर महासचिवले स्वीकृतिको पत्र दिएका छन् । तर, अध्यक्ष राम अवालेले भने प्रतियोगिताको मुख्य प्रायोजक (विशेष सहयोगी) नागार्जुन नगरपालिकालाई स्वीकृति दिएका छन् । ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तै एउटै प्रतियोगितालाई अध्यक्ष र महासचिवले स्वीकृति दिएर बक्सिङ संघभित्रको रडाकोलाई छताछुल्ल पार्ने काम मात्रै गरेका छैनन्, राम अवाले जुँगाको लडाईंका लागि जतिसुकै गिर्न पनि सक्न् भन्ने कुरा पनि स्थापित गरेका छन् । होइन भने संसारमै नभएको प्रायोजकलाई स्वीकृति दिएर ‘जग हसाइँ’ गर्ने काम उनले गर्ने थिएनन् ।
नगर प्रमुख बस्नेतलाई स्वीकृतिको पत्र थमाएपछि राम अवाले र उनका मतियारले प्रतियोगितामा राम्रै स्पेस पाउने विश्वास गरेका थिए । प्रतियोगितामा खेलाडीको उल्लेख्य सहभागिता रहेपछि आयोजकले पूर्व निर्धारित फागुन १९ भन्दा दुई दिन अगाडि नै खेलहरु सुरु ग¥यो । फागुन १७ गतेबाट खेल सुरु भएपछि नेपाल बक्सिङ संघको फेसबुक पेजमा प्रतियोगिताको सफलताको शुभ कामना दिँदै नगरप्रमुख बस्नेतलाई पत्र बुझाउँदाको तस्बिर पोस्ट गरिएको थियो ।
तर, राम अवाले मार्काका व्यक्तिहरुको उत्साह त्यतिबेला ‘हिस्स’ सावित भयो, जब प्रतियोगिता उद्घाटनको समयसम्म पनि आयोजकको निम्तो पाउन सकेनन् । निम्तो आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिबाट निम्तो पाएका बहुसंख्यक पदाधिकारी प्रतियोगिताको उद्घाटन र समापन समारोहमा सरिग भए पनि अध्यक्ष राम अवाले र उनी मार्काका व्यक्तिहरु भने प्रतियोगिता स्थलमा गएनन् । उनीहरु सहभागी हुन पाएनन् । स्युचाटारमा प्रतियोगिताका खेलहरु सञ्चालन भइरहँदा फागुन १९ गते ललितपुरस्थित राम अवालेको घरमा उनी मार्काका संघका पदाधिकारी, प्रशिक्षकहरु जम्मा भएका थिए । उनीहरुले लामो समय दौडधूप गरेर पनि आफूहरुलाई ‘खिस्स’ बनाउने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । स्रोतका अनुसार राम अवालेले भने उद्घाटनमा निमन्त्रणा नआए पनि समापनमा आउने भन्दै उनीहरुलाई हतास नहुन भनेका थिए ।
यस विषयमा बुझ्दा आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकी र प्रतियोगिता संयोजक किशोर केसीले संघका सम्पूर्ण पदाधिकारीलाई अतिथिका लागि पत्र पठाए पनि अध्यक्षलगायतका व्यक्तिहरु कार्यक्रममा नआएको जानकारी दिए । ‘हामीले संघका सबै पदाधिकारीलाई पत्र पठाएका हौं । संघका अधिकांश पदाधिकारी आउनु भएको छ । उहाँहरु किन आउनु भएन थाहा भएन’, अध्यक्ष बुढाथोकीले भने ।
यो पनि पढ्नुस्

नेपालमाला
