काठमाडौं : शनिबार पक्राउ परेका पू्र्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि आइतबार अदालतमा पेश गरिने भएको छ। दुवैजनालाई जिल्ला अदालत लैजान लागिएको हो। ओली र लेखकलाई प्रहरीले शनिबार निवासबाटै पक्राउ गरेको हो। पक्राउ पछि ओली टिचिङ अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा छन्।
जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा ओली र लेखक पक्राउ परेका हुन्। सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।
आयोगले लापरवाहीका कारणले जेनजी आन्दोलनका मानिसको मृत्यु भएको ठहर गर्दै तत्कालीन प्रधानमन्त्री ओली,गृहमन्त्री लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी मुद्दा दायर सिफारिस गरेको छ।
आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले सिफारिस गर्ने र अन्यको हकमा सो आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको छ।

नेपालमाला
