काठमाडौं : वर्ल्ड जुनियर तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली उज्वेकिस्तान प्रस्थान गरेका छन् । नेपाली टोली बिहीबार उज्वेकिस्तान प्रस्थान गरेको हो ।
यही अप्रिल १२ देखि १७ तारिखसम्म उज्वेकिस्तानको तास्कन्टमा आयोजना हुने प्रतियोगितामा नेपालबाट दुईजना खेलाडीले भाग लिँदै छन् । महिला ४६ केजीमुनिको तौल समूहमा कृतिका कटुवाल र महिला ५९ केजीमुनिको तौल समूहमा दिलिका भ्लोनले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सन्दीपा अम्गाईं छिन् ।
दिलिकाले हालै काठमाडौंमा आयोजना भएको चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् । उनी जुनियर राष्ट्रिय टोलीको सदस्यसमेत हुन् । अन्तर्राष्ट्रिय निर्णयकसमेत रहेकी सन्दीपाले विगत एक वर्षदेखि राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएकी छन् ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता र परिषदका कार्यकारी समिति सदस्य भानबहादुर चन्दले बुधबार बिदाई गरेका थिए । सदस्यसचिव मेहताले नेपाली खेलाडीलाई विजयको शुभकामना दिँदै उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरेका थिए ।


नेपालमाला
