काठमाडौं : जापानमा अध्ययनका क्रममा असामयिक निधन भएका दैलेखका शेरबहादुर सिजापतिको पार्थिव शरीर नेपाल आइपुगेको छ । ‘द काउन्सिल अफ जेनजी’ को विशेष पहल र निरन्तर समन्वयमा उनको पार्थिव शरीर नेपाल आइपुगेको हो ।
आठबिस नगरपालिका–६ निवासी सिजापतिको शव ल्याउन प्रक्रियागत र आर्थिक कठिनाइ भएपछि काउन्सिलका कर्णाली प्रदेश संयोजक प्रकाश खड्काले परराष्ट्र मन्त्रालय र कन्सुलर सेवा विभागमा लिखित आग्रह गर्दै प्रभावकारी पहलकदमी लिएका थिए । खड्काकै विशेष सक्रियता, पहलकदमी र सरकारी निकायसँगको सहकार्यका कारण कानुनी अड्चन फुकाएर शव स्वदेश ल्याउन सफल भएको हो ।
शव नेपाल आइपुगेसँगै शोकमग्न परिवारले आफ्नो धार्मिक परम्परा अनुसार अन्तिम संस्कारको तयारी पनि गरेका छन् । उनको जापानमा हृदयघातका कारण निधन भएको जनाइएको छ । उनको शव नेपाल ल्याउन र अन्तिम संस्कारका लागि पनि विभिन्न संघसंस्था र व्यक्तिहरुले पनि सहयोग गरेका छन् ।
आठबिस नगरपालिका–९ छेपाडी निवासी शेरबहादुर सिजापती विद्यार्थी भिसामा जापान गएका थिए । दुर्भाग्यवश उनको जापानमै निधन भएपछि परिवार, आफन्तजन, छरछिमेकलगायत सबैलाई दुःखी बनाएको थियो । त्यो दुःख र पीडालाई मलम लगाउने काम युवा अभियन्ता तथा अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका प्रकाश खड्काले गरेका थिए । दुःखको समयमा उनले गरेको कामको सबैले सराहना गरेका छन् । खड्का करातेका अन्तर्राष्ट्रिय खेलाडी पनि हुन् ।

नेपालमाला
