काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीको सम्मानमा बालुवाटारमा चियापान आयोजना गरेकी छन्। प्रधानमन्त्री कार्कीले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत कर्मचारीको टोलीलाई बोलाएर प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गर्न सफल भएकोमा बधाई पनि दिइन्।
उनले आयोगले गरेको मेहनतको उच्च सराहना गर्दै नेपालको निर्वाचन इतिहासमा गुणस्तरीय निर्वाचनको मानक स्थापित भएकोमा प्रसन्नता पनि व्यक्त गरिन्। अनेकौं चुनौतीको सामना गरेर निर्वाचनको पक्षमा दृढतापूर्वक उभिएर काम गर्ने क्षमता आयोगको नेतृत्वमा देखिएको भन्दै उनले प्रशंसा पनि गरिन्।
‘निर्वाचन घोषणा हुनासाथ तपाईँहरूले जुन मेहनत र प्रतिबद्धताका साथ काम गर्नुभयो, त्यसैको परिणामस्वरुप आज तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुन सकेको हो। गुणस्तरीय निर्वाचनको मानक स्थापना गर्न सम्भव भएको छ। सुशासनको प्रस्थानबिन्दु नै गुणस्तरीय निर्वाचन हो। तसर्थ यो सफलता दिगो लोकतन्त्रका लागि पनि ऐतिहासिक र महत्त्वपूर्ण छ। यो सफलता हामी सबैको खुसी र गौरवको विषय हो,’ उनले भनिन्।
आयोगका तर्फबाट कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनको नतिजा प्रतिवेदनको एकप्रति प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलगायत सहभागी थिए।

नेपालमाला
