काठमाडौं : नेपाल बक्सिङ संघका पदाधिकारीको चार वर्षे कार्यकाल समाप्त भएको लामो समय भइसकेको छ । संघको चार वर्षे कार्यकाल गत जेठ २१ गते नै समाप्त भइसकेकाले संघ अहिले काम चलाउको अवस्थामा छ । कोरोना भाइरसको महामारी र नयाँ खेलकुद ऐनका कारण संघले नयाँ नेतृत्व पाउन सकेको छैन । खेलकुदको नयाँ ऐन कार्यान्यवनमा आए पनि नियमावली नबन्दा बक्सिङलगायत थुप्रै संघहरुको निर्वाचन हुन सकेको छैन । तर, कामचलाउको अवस्थामा रहेका संघले खेलकुदको ऐननियमलाई मात्र होइन, देशको कानुनलाई समेत धज्जी उडाउँदै विभिन्न विवादास्पद् कामहरु गर्दै आएको छ ।
पदावधि सकिएको संघले काम चलाउ बाहेक अरु कुनै काम गर्न पाउँदैन । तर, राम अवाले र उनका गुटले लगातार रुपमा कानुनविपरीतका विवादास्पद निर्णयहरु गर्दै आएको छ । कामचलाउ अवस्थामै रहेको संघमा नयाँ सदस्यता थप्नेदेखि अन्य विभिन्न विवादास्पद् निर्णय भइरहेको छ । अध्यक्ष अवाले र उनको गुटले गरेका कामकारवाहीका बारेमा नियमायक निकाय राष्ट्रिय खेलकुद परिषद्मा पटकपटक निवेदन परे पनि कुनै कारवाही भएको छैन ।
करिब साढे चार वर्षको अवधिमा नेपाल बक्सिङ संघको वर्तमान नेतृत्वले कुनै पनि गतिविधि गर्न सकेन । आफ्ना मान्छेलाई विदेशमा शयर गराउनका लागि केही अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई÷चार जना खेलाडीलाई पठाए पनि स्वदेशमा कुनै काम भएन । संघले कुनै पनि प्रतियोगिता आयोजना त गरेन नै हरेक वर्ष गर्नुपर्ने वार्षिक साधारणसभादेखि आर्थिक प्रतिवेदन तयार पार्ने र अडिट गर्ने कामसम्म पनि गर्न सकेन । त्यति मात्र होइन, हरेक वर्ष वार्षिक कार्यक्रमका साथै आर्थिक प्रतिवेदन र अडिट रिपोर्टसहित राष्ट्रिय खेलकुद परिषद्मा संघको नवीकरण गर्नुपर्ने प्रावधान रहे पनि बक्सिङ संघले न अडिट रिपोर्ट बुझाएको छ न त संघको नवीकरण नै गरेको छ । अहिले चार वर्षको अडिट रिपोर्ट, आर्थिक प्रतिवेदन बुझाएर नवीकरणका लागि परिषद्मा निवेदन दिए पनि संघको नवीकरण हुन सकेको छैन । अझ संघको वार्षिक तथा आर्थिक प्रतिवेदनमा महासचिव र कोषाध्यक्षको हस्ताक्षर नै नभएको बुझिएको छ । अध्यक्ष राम अवाले र उनका गुटले एकतर्फी रुपमा तयार पारेर वार्षिक तथा आर्थिक प्रतिवेदन बुझाएको राखेप स्रोतले जनाएको छ ।
प्रतियोगिता भाँड्नु र खेलाडीलाई खेल्नबाट बन्देज गर्नु भनेको नेपाली बक्सिङकै लागि पनि दुर्भाग्य सावित हुनु हो । यदि यो प्रतियोगिता आयोजना हुन सकेन भने यसको सम्पूर्ण दोषको भागिदार राम अवाले र उनको स्वार्थी गुट हुनुपर्ने छ ।
साढे चार वर्षको अवधिमा संघले कुनै पनि प्रतियोगिता आयोजना गर्न सकेन । संघले कुनै पनि प्रतियोगिता र कार्यक्रम गर्न नसकेपछि राम अवाले र तिनका केही हनुमानले नयाँ जुक्ति निकाले, अरुले गरेको कार्यक्रम र प्रतियोगितामा सहभागी भएर संघको नाम भजाउने र आफ्नो पृष्ठपोषण गर्ने । आयोजकले सजिलै मानेमा ती कार्यक्रममा संघको नाम भजाउने, ठाँटका साथ मञ्चमा बसेर फोटो सेसन गराउने र नमानेमा खेलाडी सहभागी हुन नदिनेदेखि टेक्निकल टिमलाई समेत सहभागी नगराउनेसम्मका धम्की दिने । विगत साढे चार वर्षको अवधिमा बक्सिङ प्रतियोगिता आयोजना गरेकाहरुले संघका अध्यक्ष राम अवाले र उनका नजिकका व्यक्तिहरुको यस्तै धम्की बेहोर्दै आएका छन् ।
नागार्जुन बक्सिङ खेलकुद समितिले आगामी फागुन तेस्रो साता आयोजना गर्न लागेको ‘वीर गणेशमान सिंह बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’मा पनि संघको भाग खोज्दै अध्यक्ष राम अवाले र उनका गुटका पदाधिकारी पछिल्लो समय दौडधूप गर्न थालेका छन् । उनीहरुले संघलाई भाग नदिए टेक्निकल टिमलाई रोक्नेदेखि खेलाडीलाई सहभागी हुन नदिनेसम्मका धम्की दिन थालेको बुझिएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न क्लब र बागमती प्रदेशका जिल्लाहरुले राम अवाले र उनको गुटको निर्देशन नमान्ने जान्दाजान्दै र टेक्निकल टिमले पनि संघलाई बाइपास गर्ने थाहा पाउँदा पाउँदै भाग खोज्न दौड्नुलाई धेरैले झिङ्गे दाउका रुपमा हेरेका छन् । जहाँ जहाँ बक्सिङका प्रतियोगिता हुन्छ, त्यहाँ त्यहाँ बल्छी हाल्ने । माछा परे पनि ठिकै भ्यागुता परे पनि ठिकै भन्ने मानसिकता लिएर राम अवाले र उनको गुट लागिपरेको छ ।
किनभने प्रदेशस्तरीय प्रतियोगिताका विजेताले नगद पुरस्कारसहित उत्कृष्ट महिला तथा पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल प्राप्त गर्दै छन् । नेपाली बक्सिङ इतिहासमा प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई स्कुटर र मोटरसाइकल प्रदान गरिन लागेको पहिलो पटक हो । यसअघि गणेशमान सिंह फाउन्डेसनले आयोजना गर्दै आएको ‘वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता’का उत्कृष्ट खेलाडीले स्कुटर र मोटरसाइकल प्राप्त गर्दै आएका थिए । अहिले प्रदेशका खेलाडीले पनि यो पुरस्कार पाउँदै छन् । त्यसैले जोसुकै खेलाडी पनि यो प्रतियोगितामा सहभागी भएर आफूलाई उत्कृष्ट बनाउने अभियानमा लागिसकेका छन् । यस्तोमा प्रतियोगिता भाँड्नु र खेलाडीलाई खेल्नबाट बन्देज गर्नु भनेको नेपाली बक्सिङकै लागि पनि दुर्भाग्य सावित हुनु हो । यदि यो प्रतियोगिता आयोजना हुन सकेन भने यसको सम्पूर्ण दोषको भागिदार राम अवाले र उनको स्वार्थी गुट हुनुपर्ने छ ।
यो पनि पढ्नुस्

नेपालमाला
