काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान र अनुशासन नमान्ने छुट कसैलाई नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा हामी तयार छौं अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुशासन र विधानको पालना नगर्ने निर्वाचित जनप्रतिनिधिहरू पदमा रहिरहन नपाउने चेतावनी दिएका हुन्।
कांग्रेसबाट निर्वाचित कुनै पनि गाउँपालिका अध्यक्ष वा वडाध्यक्षले पार्टीमा आबद्ध नभएको, अनुशासन नमान्ने, पार्टी कार्यालय नजाने वा सभापति नचिन्ने अभिव्यक्ति दिएमा त्यस्ता व्यक्तिलाई धन्यवाद दिएर बिदा गरिने उनको भनाइ छ ।
उनले भने, ‘कांग्रेसबाट निर्वाचित भएर वडाध्यक्ष वा पालिका अध्यक्ष पनि भइराख्छु तर कांग्रेस मान्दिनँ र चिन्दिनँ भन्न पाइँदैन। पार्टीको अनुशासन उल्लङ्घन गर्नेमाथि विधानअनुसार पार्टी अगाडि बढ्छ, यसमा कुनै अलमल छैन ।’
उनले फरक पार्टीबाट कांग्रेस प्रवेश गर्नेहरूको व्यवस्थापनका लागि उपसभापति मधु आचार्यको संयोजकत्वमा समिति गठन गरिएको बताए। त्यस्तै पार्टीका नेता-कार्यकर्ता जोड्न उपसभापति चन्द्र भण्डारीको समन्वयमा काम सुरु भएको थापाको भनाइ छ।

नेपालमाला
