काठमाडौं : १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यो जानकारी दिएका हुन् । ‘प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री आउनुहुनेछ’, मन्त्री पोखरेलले भने, ‘उद्घाटनको समय भने १४ गतेपछि मात्रै थाहा हुनेछ ।’ उद्घाटनमा प्रधानमन्त्री आउने पक्कापक्की भए पनि समय बिहान वा दिउँसो भन्ने विषयमा एकिन नभएको मन्त्री पोखरेलले बताए । यसअघिका प्रतियोगिता राष्ट्रपतिबाट उद्घाटन गर्ने र प्रधानमन्त्रीबाट समापन गर्ने परम्परा रहे पनि यस पटक प्रधानमन्त्रीले उद्घाटन गर्न लागेका हुन् ।
मन्त्री पोखरेलले कर्णालीमा राष्ट्रिय प्रतियोगिता गर्नु नै ठूलो उपलब्धि भएको बताए । ‘पहिले राष्ट्रिय प्रतियोगिताहरु काठमाडौंमै हुन्थे । यसपालि कम्तीमा कर्णालीमा प्रतियोगिता भएको छ’, उनले भने । फुटबलको सेमिफाइनल र फाइनल किन जुम्लामा खेलाउन थालिएको हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘जुम्लाका नागरिकलाई पनि न्याय हुनेगरी एउटा खेलको फाइनल जुम्लामा गर्नुपरेको हो ।’
प्रतियोगिता उद्घाटन हुने मुख्य स्थलमा प्राविधिक पक्ष बाहेकका अन्य प्राविधिक कामहरु पूरा भएको छ । यही मंसिर १६ गते उद्घाटन हुने प्रतियोगिताका खेलहरु मंसिर ८ गतेदेखि नै सुरु भएका छन् । प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक र व्यवस्थापनका लागि आवास व्यवस्थापन गायतका अन्य विषयमा कुनै कमी नभएको आयोजकले जनाएको छ ।
Previous Article
विश्वकप छनोट प्लेअफ : नेपाली टोली घोषणा
No Newer Articles

नेपालमाला
