काठमाडौं : मनसुनी वायुमा जलवाष्प कम भएकाले अघिल्ला दिनको तुलनामा मनसुन केही कमजोर जस्तो देखिएको मौसमविद्ले बताएका छन् । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अर्थात् नेपालको तराई क्षेत्रमा अवस्थित भए पनि त्यसमा जलवाष्प कम भएकाले अघिल्ला दिनको तुलनामा कम वर्षा हुने मौसमविद् हरिप्रसाद दाहालको भनाइ छ ।
यसबारे थप प्रष्ट्याउँदै दाहालले भने, ‘नेपालमा आउने मनसुनका दुईवटा ब्रान्च हुन्छन् । एउटा अरेबियन सागरबाट आउने र अर्को बंगालको खाडीबाट आउने । हिजो अँस्तिसम्म अरेवियन सागरतिरबाट मजाले जलवाष्पयुक्त हावा आइरहेको थियो, मोइस्चर पनि प्रशस्त थियो । अहिले त्यताबाट जलवाष्पयुक्त हावा नआएकाले आजलाई वर्षा अलिकति कम भएको हो ।’
सामान्यतया मनसुनको न्यूनचापीय रेखा जहाँ अवस्थित हुन्छ, त्यहाँ धेरै पानी पर्छ । तर जलवाष्प कम भएकाले तराई क्षेत्रमा मध्यमखालको मात्र वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाका मौसमविदले गरेका हुन् । महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

नेपालमाला
