काठमाडौं : नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकामा सधैंको प्रतिस्पर्धी नेकपा एमालेलाई जित्न २५ वर्ष कुर्नपर्यो । २०५४ र २०७४ सालको स्थानीय निर्वाचनमा पराजित भएको कांग्रेसले २०७९ सालमा भने एमालेलाई ठूलो मतान्तरले हराइदियो । नगर प्रमुखमा कांग्रेसका उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएर एमालेको किल्ला तोडिदिए । एमालेका केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत ल्याएर दोस्रो भए भने माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले ४ हजार ९० मत ल्याएर तेस्रो भए ।
नकर्मीले प्राप्त गरेको मतले कांग्रेस निर्वाचित मात्रै भएन समग्र कम्युनिस्ट मतलाई समेत बलियो धक्का दियो । कांग्रेसले १० मध्ये ९ व६ा वडाको वडाध्यक्ष पनि जित्यो । कीर्तिपुर नगरपालिका पर्ने काठमाडौं क्षेत्र नं १० र प्रदेशसभा निर्वाचन क्षेत्र (क) पनि कांग्रेसले जित्यो । मेयर नकर्मीको मृत्युपछि उपचुनाव हुँदा कांग्रेससामु २५ वर्षपछि एमालेबाट फुत्काएको स्थान बचाउने चुनौती छ । सत्ता सहकार्य गरेको दल एमाले, गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रिएको माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारसँग प्रतिस्पर्धा गरेर विजयलाई निरन्तरता दिनुपर्ने अवस्थामा कांग्रेस छ ।
लामो अन्तरपछि स्थानीय तहको नेतृत्व प्राप्त गरेकाले बचाउनका लागि सचेत र चिन्तित दुबै रहेको काठमाडौं–१० का कांग्रेस सभापति पुकार महर्जन बताउँछन् । ‘हामीले धेरै गाह्रोसँग जितेको हो । जितलाई कायम राख्न हामी सचेत छौं’, महर्जनले भने । सत्ता सहकार्य एमालेसँग रहेकाले प्रमुख प्रतिस्पर्धी शक्तिको आलोचना गरेर मत माग्ने सुविधा समेत यसपटक कांग्रेसका लागि छैन । यद्यपि, अहिलेको निर्वाचनबाट २०८४ सालमा सन्देश दिने प्रयत्नमा कांग्रेस छ ।
जितलाई निरन्तरता नसकेको अवस्थामा २०८४ को निर्वाचनमा पार्टीबारे नराम्रो सन्देश जाने बुझाइ दलभित्र छ । ‘अहिले जित्न सकिएन भने ०८४ मा नराम्रो मेसेज जाने चिन्तामा हामी छौं’, क्षेत्रीय सभापति महर्जनले भने । कांग्रेसले तीनपटक नगर सभापति र एकपटक सचिव भएका कृष्णमान डंगोललाई प्रमुखको उम्मेदवार बनाएको छ । कांग्रेसका केन्द्रीय सदस्य एवं स्थानीय तह समन्वय विभाग प्रमुख मधु आचार्यले स्थानीय जनताले खोजेकै व्यक्तिलाई पार्टीले उम्मेदवार बनाएको दाबी गरे ।
कांग्रेसमा टिकटको आकांक्षीहरुले उम्मेदवारलाई असहयोग गर्ने विगतदेखिको प्रवृत्ति छ । कीर्तिपुरमा पनि यस्तै प्रवृत्ति देखिने चिन्ता पार्टीका नेता कार्यकर्तामा छ । एउटा समूहको व्यक्तिले टिकट पाउँदा अर्कोले असहयोग गर्ने परम्परा जस्तै पार्टीमा बसेकाले संशय पार्टीभित्र छ ।
प्रदेश सांसदसमेत रहेका क्षेत्रीय सभापति महर्जन पार्टीको आन्तरिक समस्या कीर्तिपुरमा नभएको र आफ्नो उम्मेदवार जिताउन एकढिक्का रहेको दाबी गर्छन् । ‘टिकट पाएपछि कृष्णमान व्यक्ति मात्रै हुनुभएन । सबैको उम्मेदवार पनि हो । पार्टीका सबैलाई मिलाएर हामी चुनावमा जिताउन लाग्छौं’, क्षेत्रीय सभापति महर्जनले भने ।
कांग्रेस नेताहरुको अनुसार यस क्षेत्रका संघीय सांसद राजन केसीले हिमाल कार्कीलाई टिकट दिनुपर्ने राय पार्टीमा दिएका थिए । केसीले इच्छाएको व्यक्तिले टिकट नपाउँदा उनको भूमिकालाई लिएर स्थानीय कार्यकर्ताले संशय व्यक्त गर्छन् । कीर्तिपुर नगरका कांग्रेसका एक सदस्य भन्छन्, ‘राजन दाइले हिमाललाई टिकट दिए जित्न सजिलो हुन्छ कि भनी सुझाव मात्रै दिनुभएको हो । हिमाल नै चाहिन्छ भनेर ढिपी गर्नुभएको होइन ।’
कांग्रेस उम्मेदवार डंगोलले उम्मेदवारी दर्ता गराउँदा केन्द्रीय सदस्य केसी पनि दर्ता स्थलमा पुगेका थिए । उम्मेदवारको पक्षमा पार्टी एकढिक्का भएको सन्देश कांग्रेसले मनोनयन दर्ताको समयमा दिएको थियो । टिकटका आकांक्षी अन्य दश जनासमेत उम्मेदवारी दर्ताका क्रममा पुगेका थिए । केन्द्रीय सदस्य नानु बाँस्तोला टिकट वितरणले अन्य आकांक्षीमा असन्तुष्ट नरहेको दाबी गर्छिन् । ‘उम्मेदवारका सबै आकांक्षी कृष्णमान उम्मेदवार हुदाँ खुसी हुनुहुन्छ’, बाँस्तोलाले भनिन्, ‘सामाजिक कार्यमा सक्रिय, भद्र र शालीन व्यक्तिले टिकट पाउँदा सबै जनाले उहाँलाई सहयोग गर्नुहुन्छ ।’
चिरपरिचित प्रतिस्पर्धी शक्ति कांग्रेससँग प्रतिस्पर्धा गर्न एमालेबाट सुरेन्द्र मानन्धर उम्मेदवार बनेका छन् । पार्टीको नगर सभापति डंगोल एमालेका केन्द्रीय सदस्यसँग प्रतिस्पर्धा गर्दैछन् । अर्कोतर्फ, प्रतिपक्षी दल माओवादी केन्द्रले दोहोर्याएर उठाएका शिवशरण महर्जन थप चुनौती हुने विश्लेषण कांग्रेसका नेता कार्यकर्ता गर्छन् ।
माओवादीले एकीकृत समाजवादी र जनता समाजवादीसँग चुनावी तालमेल गरेको छ । माओवादीबाट छरिएका विभिन्न घटकहरुको उपनिर्वाचनमा देखिएको एकत्व र विपक्ष तालमेलका कारणले एमाले भन्दा चुनौती बढी माओवादीसँग रहेको विश्लेषण कांग्रेसका एक नेताले सुनाए ।
स्वतन्त्र उम्मेदवारको जबर्जस्त उपस्थितिले कांग्रेसलाई ती उम्मेदवारलाई चुनावी मैदानमा सामना गर्नुपर्नेछ । कीर्तिपुरमा आ–आफ्नो पहिचान बनाएका व्यक्तिहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । आफ्नो दलकै पृष्ठभूमि भएका व्यक्तिहरुले समेत स्वतन्त्रबाट उम्मेदवारी दिँदा कांग्रेसका लागि थप असहजता छ । स्वतन्त्रबाट उम्मेदवार बनेका कविर महर्जन र दिनेशकुमार अधिकारी विगतमा कांग्रेस नै थिए ।
स्वतन्त्र उम्मेदवारी दिएका मध्ये राजमान मानव अन्यको तुलनामा अघि रहेको दलहरुको विश्लेषण छ । सरसफाइ अभियन्ता राजमान यस पालिकाका मतदाताहरुको लागि परिचित नाम बनेको छ । विगतमा एमालेको सक्रिय कार्यकर्ता रहेकाले राजमानका कारणले असर नपर्ने विश्वासमा कांग्रेसका नेता कार्यकर्ता छन् । स्वतन्त्र उम्मेवारी दिएका डा. नवरथकुमार बानियाँ र नरेश श्रेष्ठका कारणले पनि कांग्रेसलाई असर नगर्ने विश्वास क्षेत्रीय सभापति महर्जनले राखे ।
कीर्तिपुर काठमाडौं–१० अन्र्तगत प्रदेशतर्फ (क) पर्दछ । प्रदेशमा कांग्रेसले जितेका कारणले पनि जितलाई कायम राख्न कांग्रेसका लागि चुनौती छ । नगरप्रमुख सहित ९ वटा वडाको जित र आफ्ना जनप्रतिनिधिले गरेका कामको बलमा कांग्रेस चुनावमा होमिँदैछ । कांग्रेस नेतृत्वको स्थानीय सरकारले कीर्तिपुर अस्पतालमा स्थानीयलाई ५० प्रतिशत छुट, एक घर एक स्नातक अवधारणा लागु लगायतका काम गरेको कांग्रेसका नेताहरुको दाबी छ ।