विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत सदस्यको समर्थनसहित गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बनेका हुन्।
यसअघि असार २१ गते नेपाली कांग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपाका ४६ सांसद (गठबन्धन) र सभामुख गौतमको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए। कोसीमा असंवैधानिक तरिकाले सरकार गठन भएको सर्वोच्च अदालत फैसला गरिदिएपछि थापा मुख्यमन्त्री पदबाट पदमुक्त भएका थिए।
थापा कांग्रेसका २९,माओवादीका सभामुखसहित १३,नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ गरी ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

नेपालमाला
