काठमाडौं : नेपाल कतारमा जारी राइजिङ स्टार्स एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको खेलमा पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
पाकिस्तानले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमा समेटिएको थियो । नेपालका ओपनर मयन यादवले ४१ रन बनाए । यस्तै बसिर अहमदले ११ रन जोडेका थिए । नेपालका अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका ६ खेलाडी खातै नखोली पेभेलियन फर्किएका थिए । नेपाललाई धराशयी बनाउन पाकिस्तानका मोहमद हैसनान र सुफ्यान मोकिमले तीन÷तीन विकेट लिए । यस्तै मोहमद इमरानले दुई र माज सदाकतले एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४२ ओभरमा एक सय ६८ रनमा अलआउट भएको थियो । पाकिस्तानका रोहेल नजिरले अर्धशतकीय पालि खेलेका थिए । लामो समय क्रिजमा संघर्ष गरेका उनले ८३ बलमा तीन छक्का र चार चौकाको सहयोगमा अविजित ६४ रन बनाए । यस्तै हसन नवाजले २८, अहमद दनियलले १६, हैदर अलीले १५ तथा माज सदाकत र अब्दुल सामदले समान १३ रन जोडेका थिए । नेपालका रासिद खानले पाँच विकेट लिए । आठ ओभर बलिङ गरेका उनले ३९ रन दिएर पाँच विकेट लिए । लिस्ट ‘ए’ क्रिकेटमा डेब्यु गरेका अभिशेष गौतमले दुई तथा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले एक÷एक विकेट हात पारे ।
पहिलो खेलमा भारतसँग ३०६ रनको विशाल अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गरेको थियो ।
Previous Article
१०औं राष्ट्रिय खेलकुद : बागमतीलाई चार स्वर्ण
No Newer Articles

नेपालमाला
