काठमाडौं : ‘आफूलाई तत्काल प्रहरी महानिरीक्षकमा पुनर्बहाली गरियोस्’ भन्ने निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले दुवै पक्षका कानुन व्यवसायीहरूको बहस सुनेपछि अन्तिम सुनुवाईमा नै मुल विषयवस्तुवारे निर्णय हुने भनी अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्नुमा तीनवटा कारणहरू अघि सारेको देखिन्छ । पहिलो, सरकारको निर्णयपछि डा. मनोजकुमार केसीले १८ कात्तिक, २०८३ मा नै प्रहरी महानिरीक्षक पदमा बढुवा भएको नियुक्ति बुझेका थिए र त्यही दिन पद र कार्यभार समेत सम्हालिसकेका थिए । सर्वोच्चले आईजी केसीले काम सुरु गरिसकेको भन्ने आधारमा अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नभएको भनेको हो । दोस्रो, अन्तरिम आदेश माग गरेको विषय देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठनको नेतृत्वसँग सम्बन्धित भयो भन्ने अर्को आधार छ । सर्वोच्चले त्यो विषय सार्वजनिक महत्वको र संवेदनशील विषय रहेको भन्दै अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नभएको भनेको हो ।
तेस्रो, रिट निवेदनमा माग गरेको न्यायिक उपचार र काननी प्रश्नहरू अन्तिम सुनवाइमा निरूपण गर्नुपर्ने भनेको छ । सर्वोच्च अदालतले ‘सुविधा र सन्तुलनको दृष्टिबाट समेत अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको’ भनेको हो ।
रिट निवेदनमा निवर्तमान आईजीपी दानबहादुर कार्कीले राज्यको शान्ति सुरक्षा र प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमाण्ड)को नेतृत्व गर्ने आफ्नो भूमिका खोजिएको भन्दै सरकारको निर्णयमाथि प्रश्न उठाएका थिए । सर्वोच्च अदालतले त्यो रिट निवेदनको विषयवस्तुको महत्व, गम्भीरता र संवेदनशीलता हेर्दा छिटो सुनुवाइ र निर्णय हुनुपर्ने भनेको छ ।
अनि लिखित जवाफ पेश भएको सात दिनभित्र मुद्दाको पेशी तोक्नु भनी सर्वोच्च अदालत प्रशासनलाई आदेश दिएको छ । मुद्दाको पेशी चढेपछि दुवै पक्षले मुद्दा स्थगित समेत गर्न नपाउने आदेशमा उल्लेख छ । इनम सापकोटासँग सम्बन्धित विषयवस्तु र मोबाइलको विवरण बाहिरिएपछि सरकारले १८ कात्तिकमा प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो ।
उनको ठाँउमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी आईजीमा नियुक्त भएका छन् । सरकारको निर्णयपछि आफूलाई गैरकानूनी रुपमा हटाइएको भनी कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
बुधबारको बहसमा कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतिसकृष्ण खरेल, पूर्णमान शाक्य, डा. दिनमणी पोखरेल, अमर थापा, ललितबहादुर बस्नेत, केदारप्रसाद कोइराला र अधिवक्ताहरू माधव बस्नेत, टिकाबहादुर कुँवर, सुजाता के.सी. र आभास रेग्मीले बहस गरेका थिए ।
दानबहादुर कार्कीलाई आईजीबाट हटाउने सरकारको निर्णयको प्रतिरक्षाका लागि महान्यायाधिवक्ता डा. नारायणदत्त कडेल, नायब महान्यायाधिवक्ताहरू लोकराज पराजुली, खेमराज ज्ञवाली, ध्रुवकुमार चौहान अनि सहन्यायाधिवक्ताहरू दिनेश घिमिरे र सोमकान्ता भण्डारीले बहस गरेका थिए ।
नवनियुक्त आईजी डा. मनोज केसीको तर्फबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट तथा अधिवक्ताहरू डा. सुभाष आचार्य, अपूर्व खतिवडा, संजिवराज रेग्मी अनि प्रहरी प्रधान कार्यालयको तर्फबाट अधिवक्ता करुणाकर मल्लिकले बहस गरेका थिए ।

नेपालमाला
