काठमाडौं : इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । सावित्रा आज (मंगलबार) बिहान इजरायल प्रस्थान गरेकी हुन् ।
उनले त्यहाँ हापोएल रानानाबाट खेल्ने छिन् । सावित्रा युरोपियन लिग खेल्न जाने पहिलो नेपाली खेलाडी हुन्। इजरायल एसियन राष्ट्र भए पनि त्यहाँको क्लबले युईएफएमा आबद्ध भएर युरोपियन क्लब फुटबल खेल्दै आएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीकी सर्वाधिक गोलकर्ता रहेकी सावित्राले एक सिजनका लागि रानानासँग सम्झौता गरेकी हुन् । उनले राष्ट्रिय ४५ खेलमा ४४ गोल गरेकी छिन् । नेपाल एपिएफ क्लबबाट घरेलु लिगमा लगातार च्याम्पियन बनेकी उनले भारतीय लिगमा पनि सफलता हासिल गरेकी छिन् ।
भारतीय शीर्ष डिभिजन लिगमा तहल्का मच्चाएपछि उनको चर्चा चुलिएको थियो । सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम करालालाई लगातार उपाधि दिलाएकी थिइन् । सावित्राले पहिलो पटक एसियाबाहिर खेल्न लागेकी हुन् । उनले यसअघि मालदिभ्समा पनि खेलिसकेकी छिन् ।