पोखरा : नेपालका सुप्रिका गुरुङ र रुपेश तामाङले ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । बिहीबार पोखरास्थित बहुउद्देशीय कभर्डहलमा भएको महिला ६८ केजीमाथिको प्रतिस्पर्धामा सुप्रिका र पुरुष ६३ केजी तौल समूहमा रुपेशले स्वर्ण पदक जितेका हुन् ।
उपाधि भिडन्तमा सुप्रिकाले भारतकी रिया अलुवालियालाई पराजित गरिन् । यसैगरी रुपेशले भारतकै मिचिमिङ यौजमलाई पराजित गरे । पुरुष ६३ केजीमा भारतका यादव चेन र रालिङ मिचोयोनले कांस्य पदक जिते ।
असोज ९ गतेसम्म चल्ने च्याम्पियनसिपको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरे । उद्घाटन समारोहमा वल्र्ड तेक्वान्दो महासंघका अध्यक्ष डा. चोउ चुङ ओन, एसियन तेक्वान्दो फेडेरेसनका अध्यक्ष प्रोफेसर लिक्यू सिओकलगायतको उपस्थिति रहेको थियो ।
च्याम्पियनसिपमा सिनियर र जुनियर गरी १४ वर्षदेखि ६० वर्षमाथिका महिला तथा पुरुष गरी १६ र पुम्सेतमा १४ देखि ६० वर्षमाथि एकल, जोडी र समूहमा प्रतिष्पर्धा भइरहेको छ । च्याम्पियनसिपमा १३ देशका एक हजार चार सय २५ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । मूल आयोजक समितिका सचिव जगन गुरुङले एउटै खेलका लागि यति ठूलो संख्याको सहभागिता नेपाली खेलकुदको इतिहासमा नै पहिलो भएको बताए ।