काठमाडौं : पछिल्लो ६ वर्षमा नेपाली खेलकुदमा सबैभन्दा विवादित संघ बनेको छ, नेपाल बक्सिङ संघ । अध्यक्ष राम अवालेको असक्षमता र परिवार मोहका कारण बक्सिङ संघ संधै विवादमा जकडिरहेको छ । संघका उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुसंख्यक पदाधिकारीलाई पाखा लगाउँदै परिवारका सदस्य र आफू निकटका व्यक्तिहरुलाई काखी च्याप्ने र जथाभावी आफूखुसी निर्णय गरेका कारण संघ लामो समयदेखि विवादमा जकडिएको हो ।
यही आन्तरिक विवादकै कारण पनि संघले पछिल्लो ६ वर्षको अवधिमा बक्सिङ खेलको विकास, विस्तार र उन्नयनमा सिन्कोसम्म पनि भाँच्न सकेको छैन । संघले पछिल्लो ६ वर्षमा एउटै काम गर्दै आएको छ, संघलाई सहयोग गर्ने व्यक्ति र अध्यक्ष राम अवाले निकटका व्यक्तिको विदेश भ्रमण । स्वदेशमा बक्सिङका गतिविधि ठप्प भइरहँदा पनि संघका केही पदाधिकारीले भने मस्तसँग विदेश भ्रमण गर्न पाइरहेका छन् । राम अवालेले संघका केही व्यक्तिलाई रिझाउन हरेक महिनाजसो विदेश सयर त गराएकै थिए, अहिले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र कर्मचारीलाई पनि विदेश सयरमा लैजाने भएका छन् ।
नेपाल बक्सिङ संघको चार वर्षे कार्यकाल सकिएको दुई वर्षभन्दा बढी समय भइसकेको छ । त्यसैले चाँडै नै संघको अधिवेशन हुँदैछ । संघभित्रको विवादका कारण राम अवालेलाई अधिवेशन गर्न सहज छैन । उनले बाइपास गरेका संघका पदाधिकारीले अवालेलाई ढुक्कसँग अधिवेशन गर्न दिने अवस्था छैन । उनीहरुले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा दर्जनौं पटक उजुरी दिइसकेका छन् ।
यस्तो अवस्थामा अधिवेशनका समयमा आफ्नो पक्षमा माहोल बनाउन राम अवालेले आफू निकटका संघका पदाधिकारीसँगै युवा तथा खेलकुदमन्त्री, उनकी श्रीमती, स्वकीय सचिव, मन्त्रालयका सचिव, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव र कर्मचारीलाई समेत रसियाको सयर गराउन लागेका हुन् ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजका लागि भने रसिया भ्रमण ‘हनिमुन टुर’ हुन लागेको छ । उनले श्रीमती उषालाई पनि आफूसँगै रसिया लैजान लागेका छन् । यस्तै उनका स्वकीय सचिव रोशन सुनार, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मी, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, राखेपकै प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेतलाई पनि राम अवालेले रसियाको सयर गराउँदै छन् । अधिवेशनलाई प्रभावित तुल्याउनकै लागि जम्बो टोली रसिया लैजान लागेको थाहा पाएपछि राखेप सदस्यसचिव टंकलाल घिसिङ भने रसिया भ्रमणबाट पछि हटेको जनाइएको छ ।
नेपाल बक्सिङ संघबाट अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुनबहादुर केसी, राम अवालेका भाइ श्याम अवाले र अवैधानिक सदस्य मानबहादुर भण्डारी रसिया जान लागेको बुझिएको छ । भण्डारी चार वर्षे कार्यकाल समाप्त भएपछि संघको सदस्यमा मनोनीत भएका हुन् । त्यही कारण उनको नियुक्तिलाई लिएर संघभित्रै विवाद चर्किएको छ ।
रसियामा बक्सिङको औपचारिक कुनै कार्यक्रम छैन । बक्सिङ संघका सदस्य श्याम अवालेका अनुसार रसिया बक्सिङ संघ र त्यहाँको विदेश मन्त्रालयको सामान्य निमन्त्रणामा जम्बो नेपाली टोली रसिया जान लागेको हो । ‘रसियामा बक्सिङको कुनै कार्यक्रम छैन । यो मैत्रीपूर्ण भ्रमण मात्रै हो’, सदस्य श्याम अवालेले भने ।
रसिया भ्रमणमा जाने सम्पूर्णको खर्च भने राष्ट्रिय खेलकुद परिषद्ले बेहोर्ने मन्त्रालय स्रोतले जनाएको छ । ‘मन्त्री, सचिवलगायत उच्चपदस्थ सम्मिलित भ्रमण भएकाले उनीहरुको सम्पूर्ण खर्च राष्ट्रिय खेलकुद परिषद्ले बेहोर्ने सहमति भएको छ’, मन्त्रालय स्रोतले भन्यो ।
अहिले रसिया र नेपालबीच सम्बन्ध बिग्रिएको छ । रसिया–युक्रेन युद्धमा नेपाल युक्रेनको पक्षमा उभिएपछि रसिया नेपालसँग रुष्ट बनेको हो । यस्तो अवस्थामा नेपाल सरकारका मन्त्री र सचिव एउटा सामान्य निमन्त्रणाका आधारमा रसिया जानु नै गलत भएको परराष्ट्रका जानकारहरु बताउँछन् । उनीहरुका अनुसार रसियासँग सम्बन्धमा दरार आएका बेला नेपालबाट सरकारी टोली जानु नै कुटनीतिक मर्यादा विपरीत हो । अर्को कुरा, पछिल्लो समय नेपालमा आर्थिक मन्दी छ । विदेशी मुद्राको सञ्चिती पनि घटेको छ । यस्तो अवस्थामा सामान्य कार्यक्रममा राज्यलाई लाखौं भार बोकाएर विदेश सयर गर्नु उचित नभएको उनीहरु बताउँछन् । ‘सरकारले विदेशी मुद्राको सञ्चिती घटेको भन्दै विदेश जाने सर्वसाधारणलाई दुई सय डलरभन्दा बढी लैजान दिएको छैन । यसले गर्दा उनीहरुले ठूलै हैरानी खेप्नु परिरहेको छ’, उनीहरु भन्छन्, ‘एउटा सामान्य कार्यक्रममा जान लागेका मन्त्री, सचिवलगायतका टोलीलाई चाहिँ राज्यको ढुकुटीबाट लाखौं रुपैयाँ खर्च गर्न लागिएको छ । यो कत्तिको न्यायोचित छ ?’
रसिया भ्रमण बक्सिङका लागि सहयोग जुटाउने बहना मात्रै भएको मन्त्रालय स्रोतको दाबी छ । बक्सिङ संघमा पहिलेदेखि नै विवाद रहेकाले उक्त विवाद मिलाउने आश्वासनमा मन्त्रालय र राखेपका उच्चपदस्थ व्यक्तिहरुलाई घुमाउन लैजान लागिएको हो । ‘संघको विवाद मिलाउने र जसरी पनि राम अवाले पक्षलाई सहयोग गर्ने बहनामा मन्त्रीदेखि निजी सचिव र राखेपका कर्मचारीलाई रसिया भ्रमण गराउन लागिएको हो’, मन्त्रालय स्रोतले भन्यो ।
Previous Article
स्वदेश फर्केसँगै प्रशिक्षणमा व्यस्त गोपाल
Next Article

नेपालमाला
