काठमाडौं : तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी एवं प्रशिक्षक गोपाल भण्डारी प्रशिक्षणमा फर्किएका छन् । करिब पाँच महिना अमेरिकामा बसेर विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्नुका साथै अफिसियल निर्णायक र प्रशिक्षकको भूमिका निर्वाह गरेका भण्डारी स्वदेश फर्किएर पुनः प्रशिक्षणमा फर्किएका हुन् ।
स्वदेश फर्किएपछि उनी सीतापाइला तेक्वान्दो डोजाङमा नियमित प्रशिक्षणमा फर्किएका हुन् । उनले सीतापाइला तेक्वान्दो डोजाङका खेलाडीलाई बिहान र बेलुका प्रशिक्षण गराउँदै आएका छन् ।
विगत लामो समयदेखि सीतापाइला तेक्वान्दो डोजाङमा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका गोपालले अमेरिकाको टेक्सास राज्यमा आयोजना भएको डालस फोर्ट वर्थ ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । उनले यू–४० उमेर समूहको रेगुलर पुम्सेमा विभिन्न देशका सात राष्ट्रका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए । यसैगरी ४३औं नेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा भने रजत पदक जितेका थिए ।
यस्तै भर्जिनियामा आयोजना भएको च्याम्पियनसिपमा गोपालले ३३ वर्षमाथिको उमेर समूहअन्तर्गत मास्टर पुम्सेमा रजत पदक जितेका थिए । उनको समूहमा अमेरिकाका विभिन्न राज्यका नौ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गोपालले एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो डोजाङबाट प्रतिनिधित्व गर्दै रजत पदक जितेका थिए ।
यसैगरी गत नोभेम्बरमा ८०औं अन्तर्राष्ट्रिय मास्टर्स कोर्स र पुम्से एक्जामिनर कोर्स उतीर्ण गरेका उनले विभिन्न प्रतियोगितामा अफिसियल निर्णायकको भूमिका निर्वाह गरेका थिए । गत डिसेम्बरमा अमेरिकाकै न्यु जर्सीमा भएको मेट्रो इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप, टेक्सासमा जनवरी १४ र १५ मा भएको यूएस मास्टर्स कप, फ्रेब्रअरी १९ मा मेरील्यान्डमा भएको मेरुल्यान्ड स्टेट तेक्वान्दो च्याम्पियनसिपमा अफिसियल निर्णायकको भूमिका निर्वाह गरेका थिए ।