काठमाडौं : काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । करिब दुई महिनाअघिदेखिको निषेधाज्ञालाई अझै निरन्तरता दिइने प्रशासनले जनाएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले फेरि निषेधाज्ञा थप हुन सक्ने बताए । ‘उपत्यकाको पछिल्लो साताको संक्रमण दर अघिल्लो साताको जस्तै छ । संक्रमण फैलिन सक्ने जोखिम पनि कायमै छ । त्यसैले अबको निषेधाज्ञाबारे केही भन्न सकिने अवस्था छैन । पछिल्लो साताको संक्रमणदर स्थिर छ’, उनले भने, ‘भयावह अवस्थालाई पार गरेर आए पनि फेरि भिडभाड भयो भने उस्तै अवस्था आउँछ । त्यसैले फेरि एक साता वा त्योभन्दा बढी समय पनि निषेधाज्ञा थप हुन सक्छ ।’
नागरिकको स्वास्थ्य र संक्रमणदरलाई मध्यनजर गर्दै निर्णय लिइने उनले बताए । ‘चरणबद्ध रुपमा स्वास्थ्य मापदण्डमा कडाइ गरी केही क्षेत्र खुकुलो बनाएका छौं। निजी सवारी–साधनमा जोर–बिजोर लागु गरिएको छ । असार १४ गतेसम्मको संक्रमणदर अहिले नै पूर्वानुमान गर्न सकिँदैन । अघिल्लो साता र यो साताको संक्रमणदर उस्तै उस्तै छ’, प्रजिअ निरौलाले भने, ‘सार्वजनिक सवारी–साधन चल्न दिनेबारे केही पनि छलफल भएको छैन । सार्वजनिक यातायात व्यवसायी मारमा परेको बारे प्रशासनको ध्यान गएको छ । तर, संक्रमणदरलाई मध्यनजर गर्दै निर्णय लिइनेछ ।’
पछिल्लो समय निषेधाज्ञा खुकुलो गरिएको छ । मोटरसाइकल कार, जीप, ट्याक्सी चलाउन दिइएको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन भइरहेका छन् । विकास निर्माणका कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ । पठाओ र टुटल सेवा सञ्चालनमा आइसकेका छन् । सरकारले आन्तरिक तथा बाह्य हवाई उडान गर्न दिने निर्णय पनि गरिसकेको छ ।
‘उपत्यकामा निषेधाज्ञालाई निरन्तरता दिनुको एउटै उद्देश्य हो भिडभाड नियन्त्रण गर्नु’, उनले भने, ‘पछिल्लो साताको संक्रमणदर हेर्दा अहिले नै केही भन्न सकिने अवस्था छैन । निषेधाज्ञा थप्नुअघि विभिन्न सरोकारवाला निकायसँग छलफल गरेर मात्रै निर्णय लिँदै आएका छौँ ।’

नेपालमाला
