नेदरल्यान्ड्सको रोमाञ्चक जित

आम्सट्डर्म : युरोकप फुटबलमा नेदरल्यान्ड्सले रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको रोमाञ्चक खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ गोलले पराजित गरेको हो ।
आम्स्टर्डमस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक÷एक गोल गरे ।

युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक÷एक गोल फर्काएका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले सुरुवाती अग्रता बनाएको थियो । खेलको ५२औं मिनेटमा कप्तान विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९औं मिनेटमा वेगहोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर पारेका थिए । दुई गोलले पछि परे पनि युक्रेनले उत्कृष्ट पुनरागमन गरेको थियो । खेलको ७५औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याएका थिए । ७९औं मिनेटमा युक्रेनका रोमनले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । रोमाञ्चक बनेको खेलको ८५औं मिनेटमा डम्फ्राइजले गोल गर्दै नेदरल्यान्ड्सलाई ३–२ को जित दिलाए ।
जितसँगै समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले महत्वपूर्ण तीन अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहेको छ । तीन अंक नै जोडेको अस्ट्रिया शीर्ष स्थानमा छ ।
युरोकपमै अस्ट्रियाले पनि विजयी सुरुवात गरेको छ । रोमानियाको बुचारिस्टमा आइतबार राति भएको खेलमा नर्थ म्यासेडोनियालाई ३–१ गोलले पराजित गर्दै अस्ट्रियाले विजयी सुरुवात गरेको हो । अस्ट्रियालाई जित दिलाउन स्टेफान लेनर, मिखाइल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक÷एक गोल गरे । म्यासेडोनियाका गोरान पान्डेभले एक गोल फर्काएका थिए ।
खेलको १८औं मिनेटमा स्टेफानले गोल गर्दै अस्ट्रियालाई सुरुवाती अग्रता दिलाएका थिए । २८औं मिनेटमा गोरानले गोल गर्दै म्यासेडोनियालाई १–१ गोलको बराबरीमा फर्काएका थिए ।
यससँगै गोरान युरोकपमा गोल गर्ने दोस्रो सर्वाधिक बढी उमेरका खेलाडी बनेका छन् । उनले ३७ वर्ष दुई सय २१ दिनमा गोल गरेका हुन् । म्यासेडोनियाको यो युरोकपमा गरेको पहिलो गोल पनि हो । खेलको ७८औं मिनेटमा माइकलले गोल गर्दै अस्ट्रियालाई २–१ को अग्रता दिलाए । उनले कप्तान डेभिड अल्बाको पासमा गोल गरेका थिए । त्यसपछि खेलको ९०औं मिनेटमा लेइमरको पासमा मार्कोले गोल गर्दै अस्ट्रियालाई ३–१ को जित दिलाए । युरोपियन च्याम्पियनसिपमा अस्ट्रियाको यो पहिलो ऐतिहासिक जित पनि हो । यस अघि अस्ट्रियाले जित निकाल्न सकेको थिएन ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments