कोपा अमेरिका : ब्राजिलको सहज जित

रियो दि जेनेरियो : आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोलले पराजित गर्दै ब्राजिलले सुखद सुरुवात गरेको हो ।
स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन मार्कक्विन्होस, नेमार र गाब्रियल बारबोसाले एक÷एक गोल गरेका थिए ।
घरेलु मैदानमा खेलको २३औं मिनेटमा मार्कक्विन्होसले गोल गर्दै साविक विजेता ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । रिचार्लिसनले हेडमार्फत उपलब्ध गराएको पासमा मार्कक्विन्होसले गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफको ६४औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । नेमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाएका थिए । डानिलोलाई भेनेजुएलाका योहानले पेनाल्टी बक्स क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टी पाएको थियो । जसलाई नेमारले सदुपयोग गरेका थिए । ब्राजिलका लागि नेमारको यो ६७औं गोल हो । पेलेको कीर्तिमानभन्दा नेमार १० गोलले पछि छन् ।
त्यसपछि खेलको ८९औं मिनेटमा गाब्रियलले गोल गर्दै ब्राजिललाई ३–० को जित दिलाए । उनले नेमारको पासमा गोल गरेका थिए ।
जितसँगै समूह ‘ए’मा रहेका ब्राजिलले पहिलो खेलबाट महत्वपूर्ण तीन अंक जोडेको छ । ब्राजिल समूहमा शीर्ष स्थान पनि कब्जा गरेको छ ।
खेल सुरु हुनु एक दिन पहिले भेनेजुएलाका १२ जना खेलाडी र अफिसियलमा कोरोना पोजेटिभ देखिएको थियो । जसको प्रभाव ब्राजिलविरुद्धको उद्घाटन खेलमा परेको थियो ।
कोपा अमेरिकाअन्तर्गत समूह ‘ए’कै अर्को खेलमा कोलम्बियाले पनि विजयी सुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा कोलम्बियाले इक्वेडरलाई १–० गोलले हरायो ।
निकै प्रतिस्पर्धात्मक खेलको ४२औं मिनेटमा कोलम्बियाले अग्रता बनाएको थियो । एड्विन कारडोनाले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । उनले मिगुयल बोर्जाको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीले केही राम्रा अवसर बनाए पनि गोल गर्न सकेनन् र कोलम्बियाले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।
दक्षिण अमेरिकी राष्ट्रको प्रतिष्ठित प्रतियोगिताको ४७औं संस्करण गत वर्ष नै सम्पन्न हुनुपर्ने थियो । कोरोना भाइरसको महामारीका कारण एक वर्ष पर धकेलिएको प्रतियोगिता सुरुमा अर्जेन्टिना र कोलम्बियाले गर्ने तय भएको थियो । प्रतियोगिता सुरु हुनु केही समयअघि कोरोना भाइरसको महामारी देखाउँदै अजेन्टिना र कोलम्बियाले प्रतियोगिता आयोजनाबाट नाम फिर्ता लिएपछि ब्राजिलले जिम्मा लिएको हो । ब्राजिलमा पनि प्रतियोगिताको आयोजनालाई लिएर विभिन्न बहस र विवाद भए पनि अन्ततः प्रतियोगिता निर्धारित समयमै सुरु भएको हो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments