काठमाडौं : बिहीबार राति कोरोना संक्रमणको पुष्टि भएका कपिलवस्तुका दुुईजना युवा लकडाउनकै बेला भारतको मुम्बइबाट चार दिनअघि नेपाल भित्रिएको बुझिएको छ ।
कपिलवस्तुुको मायादेवी गाउँपालिका–८ विजुवाका १६ र २२ वर्षका उनीहरु वैशाख २३ गते कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट नेपाल आएकोत्यहाँको सुरक्षा निकायले जनाएको छ ।
लुकिछिपी भारतीय सीमा हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई स्थानीयले मायादेवी गाउँपालिकाकै तीर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखेका थिए ।
दुई जनाकै थ्रोट स्वाबको परीक्षण भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्न खोजिए पनि किट अभाव भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।
उनीहरुसँगै अन्य चार जना युवा पनि नेपाल भित्रिए पनि उनीहरु क्वारेन्टाइनमा बसे नबसेको भने एकिन भइसकेको छैन । उनीहरुको अहिले खोजी भइरहेको सुरक्षा निकायले जनाएको छ ।
रुपन्देहीको कोटहीमाई–१ का संक्रमित युवा पनि वैशाख ५ गते भारतको नयाँदिल्लीबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।
कपिलवस्तुका संक्रमित दुई युवालाई बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिने भएको छ ।
उनीहरूको ट्रावल हिस्टी र सम्पर्कमा रहेका व्यक्ति पहिचान गर्न सुरक्षाकर्मी खटाइने भएको छ । कपिलवस्तुका दुईजनामा संक्रमण पुष्टि भएसँगै प्रदेश ५ मा संक्रमितको संख्या २३ पुगेको छ ।

नेपालमाला
