काठमाडौं : अवैतनिक दूतले पटकपटक आफ्नो ओहोदा र सुविधाको दुरुपयोग गरेको घटना लगातार बढ्न थालेपछि सरकारले उपलब्ध गराउँदै आएको सबै कूटनीतिक सुविधा (निलो प्लेट, सिंहदरबार प्रवेश पास, झण्डाको प्रयोग, एअरपोर्टको भीआईपी कक्षलगायत) खोसेको छ ।
कूटनीतिक सुविधा दुरुपयोग गर्दै अवैतनिक दूतहरु विभिन्न गैरकानुनी क्रियाकलापमा सक्रिय हुन थालेपछि सरकारले उनीहरुको सुविधा खोसेको हो ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी औपचारिक कार्यक्रमका लागि मात्र उपलब्ध गराउँदै आएको सुविधा अन्य समयमा पनि प्रयोग गर्न थालेपछि अवैतनिक दूतको सुविधा बुधबार फिर्ता लिने निर्णय गरेको जनाएको छ ।
विज्ञप्तिमा अब उनीहरुलाई कुनै पनि प्रकारको सुविधा परराष्ट्र मन्त्रालयले उपलब्ध नगराउने उल्लेख गरिएको छ । मन्त्रालयले अर्को सूचना नआएसम्मको लागि यस्ता सुविधा नदिने जनाएको छ ।
पछिल्लो पटक ज्वरो नाप्ने यन्त्रको अभाव भइरहेका बेला त्यसमा कालोबजारी गर्ने किर्गिस्तानका अवैतनिक दूत सुलभ अग्रवाललाई कारबाही अघि बढाएपछि सरकारले यस्तो निर्णय लिएको हो ।
व्यापारिक घरना अझ एकै परिवारका सदस्य मिलेर विभिन्न मुलुकको अवैतनिक दूत हत्याउने र त्यसबाट उपलब्ध निलो प्लेटको दुरुपयोग गर्ने घटना यो पहिलो भने होइन । यस्ता पद विभिन्न माध्यमबाट उपलब्ध गरेकाहरु पटक–पटक विवादमा आउने गरेका छन् । मुलुकका ठूला व्यापारिक घरानाका व्यक्तिले नै यसरी अवैतनिक दूतको पद लिने र कूटनीतिज्ञ सरहको सुविधा उपभोग गर्ने गरेका थिए ।
नेपालमा ५२ मुलुकको अवैतनिक दूत रहेका छन् । जुन मुलुकको यहाँ दूतावास छैन त्यो मुलुकले नेपालसँगको सम्पर्कका लागि अवैतनिक दूत नियुक्त गर्दै आएका छन् ।
Previous Article
ट्रम्पलाई बिडेनको चुनौती !
Next Article