नयाँदिल्ली : कोरोना भाइरसको महामारीका कारण अहिले पुरै भारत ‘लकडाउन’मा छ । कोरोना भाइरसको संक्रमणबाट भारतमा अहिलेसम्म ७२ जनाले ज्यान गुमाइसकेका छन् । दुई हजार तीन सयभन्दा बढी यस भाइरसबाट संत्रमित भएका छन् ।
२१ दिने लकडाउनका कारण सबै घरभित्रै बसिरहेका बेला भारतमा घरेलु हिंसाका घटना ह्वात्तै बढेको समाचार आएको छ । भारतीय राष्ट्रिय महिला आयोगले लकडाउनको अवधिमा देशभर घरेलु हिंसाका घटनामा अत्याधिक वृद्धि भएको भन्दै चासो देखाएको छ ।
कोरोना भाइरस रोकथामका लागि लकडाउन सुरु गरेसँगै घरेलु हिंसाका उजुरी बढेको आयोगले बताएको छ । महिला आयोगकी अध्यक्ष रेखा शर्माले इमेलबाट लगातार घरेलु हिंसाको उजुरी आइरहेकोे जानकारी दिइन् ।
मार्चको पहिलो साता आयोगमा एक सय १६ वटा उजुरी परेका थिए । यस्तै लकडाउनको अवधिमा मार्च २३ देखि ३१ सम्म दुई सय ५७ वटा उजुरी परेका छन् । मार्च २४ देखि अप्रिल १ सम्म राष्ट्रिय महिला आयोगले ६९ वटा घरेलु हिंसाका उजुरी पाएको थियो । र यो हरेक दिन वृद्धि भइरहेको जनाइएको छ ।
श्रीमान, सासु ससुरा, नन्द, देवरलगायतले घरमा पिट्ने, दुव्र्यवहार गरेकोजस्ता उजुरी आइरहेको आयोगले जनाएको छ ।
लकडाउनको अवधिमा भिन्न प्रकृतिका उजुरी आउने गरेको पनि अध्यक्ष शर्माले बताइन् । आयोगमा इमेलपछि टेलिफोनमार्फत पनि उजुरी आइरहेको जनाइएको छ । शर्माका अनुसार महिला आयोगमा लकडाउनको अवधिमा घरेलु हिंसाका घटना ६९ वटा र १५ वटा घटना शोषणका छन् । यस्तै दाइजो, बलात्कार तथा बलात्कार प्रयासका घटना पनि आयोगमा आउने गरेको बताइएको छ । सबैभन्दा धेरै उजुरी उत्तर प्रदेशबाट र त्यसपछि दिल्ली, बिहार, मध्य प्रदेश, महाराष्ट्रबाट आउने गरेको जनाइएको छ ।
Previous Article
बेल्जियममा छोरी भेटेर फर्किएकी थिइन छैटौं संक्रमित
Next Article