बेल्जियममा छोरी भेटेर फर्किएकी थिइन छैटौं संक्रमित

काठमाडौं : बिहीबार कोरोना भाइरस संक्रमणको पुष्टि भएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया महिलामा बेल्जियममा छोरी भेटेर फर्किएकी थिइन् । उनी कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरबाट गत चैत ४ गते नेपाल आएकी थिइन् ।
कतार एयरको ६५२ नम्बरको विमानमा नेपाल आएका काठमाडौ र बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएपछि सोही विमानमा सवार बागलुङ नगरपालिका–३ की महिलाको स्वब परीक्षणका लागि सोमबार काठमाडौं पठाइएको थियो ।

परीक्षणबाट ती महिलामा पनि कोरोना संक्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
संक्रमणको पोजेटिभ रिपोर्ट आएकी महिला फागुन दोस्रो साता कान्छी छोरी भेट्न बेल्जियम पुगेकी थिइन् । स्वस्थ रहेकी उनको नमुना संकलनसमेत गरिएको थिएन । पछिल्ला दिनमा जिल्लामा जोखिम बढ्दै गएपछि एकै विमानमा सवार बागलुङका चारैजनाको स्वाब परीक्षणका लागि दबाब बढेपछि नमुना पठाइएको थियो ।
संक्रमित युवती र महिला सवार विमानमा सँगै आएका जिल्लाको ढोरपाटनका एक युवा र बागलुङ नगरपालिकाकै अर्का युवकको रिपोर्ट भने नेगेटिभ आएको छ ।
संक्रमित बागलुङ नगरपालिका–४ कुडुलेकी युवतीसँगै काठमाडौं उत्रिएर पोखरा हुँदै बागलुङ आएकी महिला घरमै परिवारसँगै बसेकी थिइन् । उनको परिवारमा ९० वर्षीय ससुरा, बुहारी र दुई नाती रहेको बुझिएको छ । एउटै विमानमा आएकी काठमाडौंकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि ती महिला होम क्वारेन्टाइनमै छुट्टै बस्दै आएकी थिइन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments