जेनेभा : कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या एक लाख २६ नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण बुधबार बिहानसम्म एक लाख २६ हजार ६०० जनाको ज्यान गइसकेको छ ।
अहिले पनि १३ लाख ९२ हजार ७४९ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५१ हजार ५९५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । अहिलेसम्म चार लाख ७८ हजार ५५७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा २६ हजार ४७ जनाको ज्यान गएको छ । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख १३ हजार ८८६ जना पुगेको छ । अहिलेसम्म ३८ हजार ८२० जनाले कोरोना भाइरसलाई परास्त गर्दै स्वास्थ्य लाभ गरेका छन् ।
यसैगरी अर्को प्रभावित मुलुक इटालीमा २१ हजार ६७ जनाले ज्यान गुमाएका छन् । इटालीमा एक लाख ६२ हजार २९१ जना संक्रमित भएकोमा ३७ हजार १३० जना निको भइसकेका छन् ।
यसैगरी युरोपको अर्को प्रभावित मुलुक स्पेनमा १८ हजार २५५ जनाले ज्यान गुमाएका छन् । जहाँ एक लाख ७४ हजार ६७ जना संक्रमति भएकोमा ६७ हजार ५०४ जना उपचारपछि घर फर्किसकेका छन् । यस्तै फ्रान्समा १५ हजार ७२९ तथा बेलायतमा १२ हजार १०७ जनाको मृत्यु भइसकेको छ ।
छिमेकी मुलुक भारतमा अहिलेसम्म तीन सय ९३ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा अहिलेसम्म ११ हजार ४८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा एक हजार ३५९ जना उपचारपछि निको भइसकेका छन् । मंगलबार मात्र भारतमा ३५ जनाले ज्यान गुमाए भने एक हजार ३४ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण देखिएको छ । जसमध्ये एकजना निको भइसकेका छन् । ६ हजार २९९ जनाको परीक्षण गरिसकिएको छ । आइसोलेसनमा ९९ जना रहेका छन् ।

Previous Article