मुम्बइ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ सम्मका लागि लकडाउन लम्ब्याएको घोषणा गरेकै दिन मुम्बइका आप्रबासी कामदारहरु आन्दोलित भएका छन् । हजारौँ कामदार मंगलबार साँझ सडकमा निस्किएर प्रदर्शन गरेका हुन् ।
हजारौं कामदार मुम्बइको बान्द्रा रेलवे स्टेसन अगाडि जम्मा भएका थिए । सरकारले लगातार लकडाउन गरेपछि मुम्बइमा केही पनि खान नपाएको भन्दै उनीहरुले आ–आफ्नो गाउँमा जान पाउनुपर्ने माग गरेका थिए । कम्तीमा एक सातासम्म मात्रै लकडाउन लम्ब्याउने अपेक्षा गरिएकोमा मे ३ गतेसम्म लकडाउन थपिदिएपछि उनीहरु आन्दोलित बनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
ठूलो संख्यामा उत्तर तथा पूर्वी भारतका मजदुरहरु मुम्बइमा बस्दै आएका थिए । लकडाउन घोषणासँगै घर फर्कन नपाएर मुम्बइमै थुनिएका उनीहरु मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले भाषणमा मजदुर तथा गरिवका लागि राहतका कुनै प्याकेज नल्याएपछि उनीहरु सडकमा उत्रिएका थिए ।
प्रहरीले धरपकड गरेपछि उनीहरु तितरबितर भएका थिए । कतिपय मजदुरहरु भने कामको ज्याला समेत नपाएको गुनासो गर्दै धेरै दिनदेखि खान नपाएको बताएका थिए । यसअघि गुजरातको सुरत सहरमा पनि ठूलो संख्यामा आप्रबासी कामदारहरुले सरकारविरुद्ध प्रदर्शन गरेका थिए । कामको ज्याला वा घर फर्कन पाउनुपर्ने उनीहरुको माग थियो ।
Previous Article
क्वारेन्टाइनमा बस्नेलाई दैनिक रु ५१० रुपैयाँ दिने
Next Article