न्युयोर्क : अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीका बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक रुपमा गर्न नसकेको आरोप लगाउँदै अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको हो ।
ह्वाइट हाउसमा आयोजना गरिएको नियमित प्रेस ब्रिफिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओको भूमिकाको समीक्षा गरियो गर्दा प्रभावकारी रुपमा काम गर्न नसकेको देखेपछि सहयोग रोक्का गर्ने निष्कर्षमा पुगेको बताए । ‘डब्लुएचओको कामको समीक्षा गर्दा प्रभावकारी रुपमा काम गर्न सकेको देखिएन । त्यसैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको छु’, ट्रम्पले भने ।
ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप पनि लगाए । डब्लुएचओको गल्तीकै कारण विश्वभर कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइरहेको ट्रम्पको ठहर छ । उनले यसको जिम्मेवारी डब्लुएचओले लिनुपर्ने बताए ।
डब्लुएचओ संयुक्त राष्ट्रसंघअन्तर्गतको संस्था हो । अमेरिका यसको एकमात्र ठूलो दाता राष्ट्र हो । गत वर्ष अमेरिकाले डब्लुएचओलाई चार सय मिलियन डलर उपलब्ध गराएको थियो । यो डब्लुएचओको कूल बजेटको करिब १५ प्रतिशत हो ।
अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा २६ हजार ४७ जनाको ज्यान गएको छ । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख १३ हजार ८८६ जना पुगेको छ । अहिलेसम्म ३८ हजार ८२० जनाले कोरोना भाइरसलाई परास्त गर्दै स्वास्थ्य लाभ गरेका छन् ।
ट्रम्पले चीनको वुहान शहरबाट कोरोना भाइरसको संक्रमणको सुरुवात हुँदा डब्लुएचओले प्रकोपको पर्याप्त आँकलन गर्न नसकेको आरोप पनि लगाएका छन् । ‘डब्लुएचओले चिकित्सा विशेषज्ञहरुलाई चीनमा पठाएर धरातलीय यथार्थ मूल्यांकन गरी वास्तविक अवस्था सार्वजनिक गरेको भए धेरै जनाको ज्यान जोगिन सक्थ्यो र आर्थिक क्षतिबाट पनि विश्वलाई जोगाउन सकिन्थ्यो । यसको सट्टा डब्लुएचओले चीन सरकारले गरेको कामको बचाउ ग¥यो’, ट्रम्पले ब्रिफिङमा भनेका छन् ।