काठमाडौं : कोरोना भाइरसले संसारभर आतंक फैलाएपछि सरकारले प्रभावित देशबाट आउने पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ । मार्च २० को मध्य रातीदेखि लागू हुने गरी अप्रिल १५ सम्म आवगमनमा रोक लगाउने निर्णय गरेको हो ।
कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्चको मध्यराती देखि लागु हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले कोरोनाको विषयमा भ्रम फैलाउने र सामान लुकाउनेलाई कारबाही गर्नेलगायत विभिन्न १५ बुँदे निर्णय गरेको छ । बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडालगायत उच्च सरकारी अधिकारीको उपस्थिति रहेको थियो ।
चीनको वुहानबाट डिसेम्बरदेखि फैलिएको कोरोना संक्रमण अहिलेसम्म १५९ देशमा पुष्टि भइसकेको छ । यस्तै सात हजार पाँच सय बढीले ज्यान गुमाइसकेका छन् भने करिब दुई लाखमा संक्रमण पुष्टि भइसकेको छ ।
Previous Article
उरुग्वेका पर्यटकसँग मैत्रीपूर्ण फुटबल
Next Article