काठमाडौं : विश्वभरि कोरोना भाइरसको संक्रमण तीब्र रूपमा फैलिरहेको बेला नेपालमा भने त्यसको असर देखिएको छैन । सरकारले राष्ट्रिय स्तरका खेलकुद गतिविधि एक साता नगर्न भने पनि स्थानीय तथा मैत्रीपूर्ण खेलहरु भने निरन्तर सञ्चालन भइरहेका छन् ।
हालै नेपाल भ्रमणमा आएका उरुग्वेका पर्यटकलाई स्वागत् गर्दै नेपालका तर्फबाट ‘एट आइज ट्राभल्स’ले मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेको छ । जावलाखेल फुटबल मैदानमा मंगलबार भएको खेलमा नेपालको प्रतिनिधित्व गरेको एट आइज ट्राभल्स एन्ड टुर उरुग्वेको टोलीसँग २—१ गोलले पराजित भएको थियो ।
एट आइज ट्राभल्स एण्ड टुरको आयोजना भएको प्रतियोगितामा नेपालको एट आइज ट्राभल्स एण्ड टुरको कप्तानी अर्जुन थापामगरले गरेका थिए । निकै रोमाञ्चक भएको खेलमा सातौं मिनेटमा उरुग्वे पर्यटक टोलीले पहिलो गोल गर्दै अग्रता बनाएको थियो ।
एट आइज ट्राभल्स एण्ड टुरका तर्फबाट उद्धव खत्रीले नवौं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ४०औँ मिनेटमा उरुग्वेका पर्यटक खेलाडीले दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए । दोस्रो हाफमा नेपालको एट आइज ट्राभल्स एण्ड टुरका खेलाडीहरूले बल आनो नियन्त्रणमा राखे पनि प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहार्न बाध्य भएको थियो ।
सन् २०१५ बाट हरेक वर्ष आयोजना गर्दै आएको मैत्रीपूर्ण खेलबाट नेपाल र उरुग्वेबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास एट आइज ट्राभल्स एण्ड टुरका प्रबन्धक नवीन गुरुङले व्यक्त गरे ।