काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिम र इङ्ल्यान्डको ‘सी’ टिमबीच हुने मैत्रीपूर्ण खेल स्थागित भएको छ । कोरोना भाइरसले विश्वभर आतंक फैलाएपछि आगामी मे २५ का लागि तय भएको खेल स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
स्थगित खेल कहिले हुन्छ भन्नेबारे भने एन्फाले केही पनि खुलाइएको छैन । यसबारे पछि निर्णय हुने जनाएको छ ।
मैत्रीपूर्ण खेलका लागि गत माघमा एन्फा र इङ्ल्यान्डको फुटबल संघबीच सम्झौता भएको थियो । दोस्रो मैत्रीपूर्ण खेल भने सन् २०२१ मा नेपालमा हुने सम्झौतामा उल्लेख छ ।
विश्वरभर फैलिएको कोरोना भाइरसको असरले अहिले नेपालको सम्पूर्ण खेलकुद गतिविधि रोकिएको छ । एन्फाले सञ्चालन गर्दै आएको बी डिभिजन लिग पनि बुधबारदेखि स्थगित गरेको छ । राष्ट्रिय खेलकुद परिषद्ले कुनै पनि प्रतियोगिता र प्रशिक्षणका कार्यक्रममा तत्कालका लागि एक साता स्थगित गर्न निर्देशन दिएपछि एन्फाले बी डिभिजन लिग स्थगित गरेको हो ।