काठमाडौं : सरकारले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षा सञ्चालनको सबै तयारी पूरा भएकोले एसईई परीक्षा नसर्ने बताएका हुन् ।
चैत ६ देखि १७ सम्म हुने परीक्षामा देशभरका चार लाख ८२ हजार दुई सय १९ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा सञ्चालनका लागि एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ ।
मन्त्री पोखरेलले कोरोना भाइरसको संक्रमण हुन नदिन पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको दाबी गरे । ‘परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने प्रबन्धका लागि सात सय ५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको छ’, मन्त्री पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै परीक्षा केन्द्रमा अनावश्यक रुपमा जम्मा भएर भीडभाड नगर्न पनि सबैलाई अपील गरेको छ ।