काठमाडौं : साबिक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तेस्रो स्थानमा समेटिएको छ । शुक्रबार भएको आफ्नो अन्तिम खेलमा जाउलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै मनाङले तेस्रो स्थानमा रहेर लिग सक्कायो । मनाङले १३ खेलबाट २८ अंक जोड्यो ।
मनाङलाई जित दिलाउन निशान लिम्बूले निर्णायक गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलको ७५औं मिनेटमा निशान लिम्बूले निर्णायक गोल गरेका थिए । सुशील लामाले उपलब्ध गराइदिएको पासमा निशानले गोल गरेका थिए ।
मनाङसँगको पराजयसँगै पाँचौं स्थानमा रहेर सुखद अन्त्य गर्ने जाउलाखेलको अभियानमा भने धक्का लाग्यो । जाउलाखेल १३ खेलबाट १९ अंक जोड्दै लिगका छैटौं स्थानमा रह्यो ।
यसैगरी शुक्रबार नै भएको अर्को खेलमा थ्रीस्टार क्लबले पनि आफ्नो अन्तिम खेलमा जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई २–० गोलले पराजित ग¥यो ।
थ्रीस्टारलाई जित दिलाउन अनन्त तामाङ र भारतीय खेलाडी लाल रामाभ्राले एक÷एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थ्रीस्टारले दुई गोल गरेको थियो ।
खेलको ७०औं मिनेटमा लाल रामाभ्राले हेड गोल गर्दै थ्रीस्टारलाई सुरुआती अग्रता दिलाएका थिए । उनले निशान खड्काको फ्रिकिक बललाई हेडमार्फत जाली चुमाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा अनन्तले पेनाल्टीमा गोल गर्दै थ्रीस्टारलाई २–० को जित दिलाए । च्यासलका डिफेन्डर छिरिङ गुरुङले डीबक्सभित्र लाल रामाभ्रालाई लडाएपछि रेफ्रीले थ्रीस्टारलाई पेनाल्टी दिएका थिए ।
जितसँगै थ्रीस्टारले चौथो स्थानमा रहेर लिग सक्काएको छ । थ्रीस्टारले १३ खेलबाट २६ अंक जोड्यो । च्यासलले भने १३ खेलबाट १५ अंक जोड्दै आठौं स्थानमा रहेको लिगको अन्त्य ग¥यो ।
शुक्रबार नै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम एनआरटीलाई २–० गोलले पराजित ग¥यो । सातदोबाटोमा भएको खेलमा १–० ले पछि परेको अवस्थालाई उल्टाउँदै शेर्पाले एनआरटीलाई पराजित गर्न सफल भयो ।
खेलको ३१आंै मिनेटमा एनआरटीले राजेश परियारको गोलबाट अग्रता लिएको थियो । राजेशले डीबक्स नजिकैबाट प्रहार गरेको बलले सीधै जाली चुमेको थियो । खेलको ४१औं मिनेटमा शेर्पाले बराबरी गोल फर्कायो । विदेशी खेलाडी स्टेफन समिरले डीबक्स भित्रबाट तीन डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा त्रिदेव गुरुङले गोल गर्दै शेर्पालाई जित दिलाए ।
जितसँगै हिमालयन शेर्पा क्लब १४ अंकसहित तालिकाको दसौं स्थानमा उक्लियो । एनआरटी भने १५ अंकसहित नवौं स्थानमा रह्यो ।
लिगको उपाधि होड भने रोचक बनेको छ । उपाधिका लागि १३औं चरणको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी र मच्छिन्द्र क्लबबीच शनिबार प्रतिस्पर्धा हुँदैछ । १२औं चरणको खेलपछि शीर्ष स्थानमा रहेको आर्मीको २९ अंक छ । आर्मीभन्दा एक अंकले पछि रहेको मच्छिन्द्रको २८ अंक छ । उपाधिका लागि आर्मीलाई बराबरी गरे मात्रै पुग्नेछ भने मच्छिन्द्रले भने जित निकाल्नु पर्नेछ ।
सरस्वती क्लब भने रेलिगेसन (बी डिभिजनमा घटुवा) मा प¥यो । एक खेल अगावै रेलिगेसनमा परेको सरस्वतीले १३ खेलमा चार अंक मात्र जोड्न सक्यो । सरस्वतीले लिगमा एक जित र एक बराबरीको नतिजा निकालेको थियो ।