काठमाडौं : नुवाकोटको शिवपुरी गाउँपालिका–५ सिलामेकी गोमा तामाङ छिनछिनमै विरामी पर्थिन् । नसासम्बन्धी समस्याका कारण एकै ठाउँमा बसिरहनु पर्ने बाध्यता उनमा थियो । उनी उपचारका लागि विभिन्न स्थानमा पुगिन् । धामीझाँक्रीको शरणमा पनि परिन् । तर पनि उनले रोगबाट छुटकारा पाउन सकिनन् । स्वास्थ्यकै कारण उनको पढाइ प्रभावित भयो । परिवारमा पनि उनीलाई लिएर चिन्ता हुन थाल्यो ।
यहीबीचमा उनको गाउँकै करातेको प्रशिक्षण सुरु भयो । उनी घर अगाडि बसेर अरुले खेलेको हेरिरहन्थिन् । अरुले खेलेको धेरै दिन हेरिरहँदा उनलाई पनि त्यो खेल खेल्न मन लाग्यो । तर, शारीरिक अवस्थाका कारण तत्काल खेल्न सम्भव भएन । गोमाले हार मानिनन् । आफ्नो स्वास्थ्य समस्यालाई खेलेरै ठिक पार्ने अभियानमा उनी लागिन् । उनलाई दाइले पनि हौसला दिए ।
त्यसपछि उनी पनि कराते खेल्न थालिन् । करातेलाई उनले आफ्नो अभिन्न अंग बनाइन् । दिनहुँ खेल्न थालेपछि उनी निको हुँदै गइन् । त्यसपछि पढाइलाई अगाडि बढाउन र घरपरिवारलाई सघाउन थालिन् ।
एसएलसी सक्काएपछि गोमा काठमाडौं आइन् । काठमाडौं आएपछि पनि उनले करातेलाई छाड्न सकिनन् । पढाइसँगै उनले बालाजुको एटेमी डोजोमा कराते सिक्न थालिन् । २२ वर्षीया गोमा विगत तीन वर्षदेखि एटेमी डोजोमा फुलकन्ट्याक्ट कराते सिक्दै छिन् । स्नातक तहमा अध्ययनरत उनी मनमैजु डोजोमा प्रशिक्षण पनि गराउँछिन् । जहाँ सशस्त्र द्वन्द्व र तराई आन्दोलनका सहिद एवं अनाथ बालबालिका आश्रित रहेको एकीकृत सिर्जनशील संस्थाका बालबालिकाले निशुल्क रुपमा कराते सिक्दै आएका छन् । मनमैजु डोजोले ४५ जनाभन्दा बढीलाई निशुल्क प्रशिक्षण गराउनुका साथै खेल पोसाक पनि निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।
पहिलो डान ब्ल्याकबेल्ट गोमाले केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएकी छन् । उनले काठमाडौंको चाल्नाखेल, थानकोटका साथै पोखरा र रोल्पामा पुगेर पनि प्रतियोगितामा सहभागिता जनाएकी छन् ।
उनी आफ्नो स्वास्थ्यका लागि मात्र नभई खेलकुदबाट पनि राष्ट्रका लागि केही गर्न सकिन्छ कि भनेर यो क्षेत्रमा लागेको बताउँछिन् । ‘सबैभन्दा पहिले त खेलकुदले स्वास्थ्य ठिक हुन्छ भनेर यो क्षेत्रमा लागेको हो’ गोमा भन्छिन्, ‘खेल्दै जाँदा खेलकुदबाटै राष्ट्रका लागि केही गर्न सकिन्छ कि भन्ने लागेर यसमै समर्पित भइरहेको छु । अब यसबाट अलग हुन सक्तिनँ ।’
पछिल्लो समय गोमाले बालाजुका साथै दशरथ रंगशालामा पनि नियमित प्रशिक्षण गर्दै आइरहेकी छन् । दशरथ रंगशालामा राजधानीका विभिन्न कलेजमा अध्ययनरत छात्राहरुलाई एटेमी डोजोका प्रमुख प्रशिक्षक एवं ब्रान्च चिफ प्रदीप थापाले प्रशिक्षण दिँदै आएका छन् ।
ग्लोबल क्योकुसिन कराते संघ जर्मनीबाट पाँचौं डान ब्ल्याकबेल्ट पास गरेका प्रदीपले आफ्नै नेतृत्वमा नयाँ कराते नेपालमा भित्र्याएका छन् । हंगेरीका ग्रान्ड मास्टर ल्याएर प्रदीपले एटेमी कराते डोजो सञ्चालन गरेका थिए । थापाले राजधानीका पद्मकन्या, शंकरदेव, त्रिचन्द्रलगायतका क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत सेल्फ डिफेन्स तालिम दिँदै आएका छन् । उनले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा दैनिक २०÷२२ जनालाई सेल्फ डिफेन्स तालिम दिँदै आएका छन् । त्यही समूहमा गोमाले पनि नियमित प्रशिक्षण गर्दै आइरहेकी छन् ।