काठमाडौं : साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा मनाङले एनआरटी क्लबलाई ४–१ गोलले हरायो । जितसँगै मनाङ अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।
मनाङले पहिलो र दोस्रो हाफमा हाफमा समान दुई दुई गोल गरेको थियो । खेलभर मनाङको दबाब झेलेको एनआरटीले दोस्रो हाफको अन्तिममा सान्त्वना गोल फर्काएको थियो ।
मनाङका लागि विमल रानाले ३५औं मिनेटमा खाता खोलेका थिए । कमल श्रेष्ठले दिएको पासमा विमलले गोल गरेका थिए । त्यसपछि अञ्जन विष्टले पेनाल्टीमा गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए । एनआरटीका रक्षकले अञ्जनलाई फल हानेपछि पाएको पेनाल्टीलाई अञ्जन आफैंले सदुपयोग गरेका थिए ।
खेलमा सानदार प्रदर्शन गरेका अञ्जनले ६५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
दोस्रो हाफमा पनि एकपछि अर्को आक्रमण बुनेको मनाङले दोस्रो हाफको इन्जुरी समयमा चौथो गोल गरेको थियो । मनाङका भारतीय खेलाडी दयानन्द सिंहले गोल गर्दै मनाङलाई सजिलै जिताए । दयानन्दले भिडाल लुइसको पासमा उत्कृष्ट गोल गरेका थिए । यसअघि ८८ औं मिनेटमा एनआरटीका सकल रेग्मीले सान्त्वना गोल फर्काएका थिए ।
दुई गोल गरेका मनाङका अञ्जन बिष्ट म्यान अफ दी म्याच भए ।
जितसँगै मनाङले ११ खेलबाट २२ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको मनाङलाई उपाधि जोगाउन अन्य टोलीको प्रदर्शनले भर पार्नेछ । एनआरटी १५ अंकसहित तालिकाको आठौं स्थानमा छ । यस हारले शीर्ष ६ मा रहने योजना बनाएको एनआरटीलाई पनि धक्का लागेको छ ।