नेपालले अमेरिकालाई हरायो

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हरायो ।

नेपालले दिएको एक सय ९१ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ४४.१ ओभरमा एक सय ५५ रनमा समेटिएको थियो । अमेरिकाका लागि इयान होलान्डले ७५ रन बनाए । क्यामरुन स्टेभेन्सनले १९ र कारिमा गोरले १० रन बनाए । नेपालका करण केसीले १५ रन खर्चिएर चार विकेट लिए । यसैगरी सुशन भारीले तीन, सन्दीप लामिछानेले दुई तथा कुशल मल्लले एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ९० रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारी र डेब्यु खेलाडी कुशल मल्लले अर्धशतकीय पाली खेले ।

डेब्यु खेलमै अर्धशतक पूरा गरेका कुशलले ५० रन बनाए । कुशलले डेब्यु खेलमै अर्धशतक बनाएर विश्व–कीर्तिमानसमेत रचेका छन् । कुशल सर्वाधिक कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने खेलाडी पनि बनेका छन् । कुशलले १५ वर्ष तीन सय ४० दिनमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्व–कीर्तिमान बनाएका हुन् । उनले ४९ बलमा तीन छक्का र चार चौका प्रहार गरेका थिए । यसअघि उक्त कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो । पौडेलले १६ वर्ष एक सय ४६ दिनको उमेरको कीर्तिमान बनाएका थिए ।

यसैगरी कप्तान ज्ञानेन्द्र मल्लले २१, पारस खड्का १९ र करण केसीले १२ रन बनाए । अमेरिकाका क्यामरुन स्टेभेन्सनले तीन विकेट लिए । रुस्ती थोरेन र कप्तान सौरभ नेत्रा भाल्करले दुई÷दुई विकेट लिए । जितसँगै लिगमा नेपालले दुई खेलबाट दुई अंक बनाएको छ । अमेरिका र ओमानको समान १२ अंक छ । पहिलो जितसँगै नेपाल सातौं स्थानमा छ । अमेरिका शीर्ष स्थानमा छ । नेपालले आइतबार ओमानसँग खेल्नेछ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments